रेसुंगाका नवनिर्वाचित जनप्रतिनिधिलाई विद्यालयहरुद्वारा बधाई तथा सम्मान


गुल्मीको रेसुंगा नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरूलाई बधाई ज्ञापन तथा सम्मान कार्यक्रम गरिएको छ । जिल्लाको उपल्लो तम्घास माध्यमिक विद्यालयको आयोजनामा रेसुङ्गा नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूलाई बधाई ज्ञापन तथा सम्मान कार्यक्रम गरिएको हो ।
कार्यक्रममा रेसुङ्गा नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख खिलध्वज पन्थी, उपप्रमुख अमृतादेवी कुँवर, वडा नम्बर ७ का वडाध्यक्ष राम्जी पन्थी, वडा नम्बर ९ का वडाध्यक्ष कृष्ण प्रसाद पाण्डे, वडा नम्वर १० का वडाध्यक्ष राम बहादुर बस्नेत र अन्य वडा सदस्यहरूको सहभागीता रहेको थियो ।
रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले विद्यालयले ज्ञापन गरेको बधाई र सम्मान प्रति निकै आभारी रहेको बताउनुभयो । नवनिर्वाचित नगरप्रमुख पन्थीले नगरपालिकाको समृद्धिका लागि सबै एकताबद्ध भएर अगाडि बढ्ने उल्लेख गर्नुभयो ।
पन्थीले नगरपालिकामा निर्वाचित सबै जनप्रतिनिधिहरूले नगरवासीको मर्म र भावना अनुसार काम गर्न प्रतिबद्ध रहेको बताउनुभयो । विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्न नगरपालिकाले नयाँ नयाँ कार्यक्रम ल्याउने भन्दै नगरपालिकाका प्रमुख पन्थीले शिक्षामा गुणस्तरीयता भएपछि बसाइँसराइ रोकिने समेत बताउनुभयो । नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले सबै क्षेत्रका विज्ञहरूसँग छलफल गरेर समृद्ध नगरपालिका बनाउनका निम्ति आफ्नो समूह लाग्ने बताउनुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष गणेश श्रीपालीले नवनिर्वाचित जनप्रतिनिधिहरूलाई बधाई ज्ञापन तथा सम्मान गर्दै विद्यालयबाट गुणस्तरीय शिक्षा प्रदान गर्न नगरपालिकाले सहयोग गर्ने अपेक्षा रहेको उल्लेख गर्नुभयो । श्रीपालीले विद्यालयबाट गुणस्तरीय शिक्षा प्रदान आफूहरू निरन्तर लागेको भन्दै नगरपालिकाले पनि सहकार्य गर्नुपर्ने बताउनुभयो ।
साथै रेसुङ्गा माध्यमिक विद्यालयले पनि रेसुङ्गा नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरूलाई बधाई तथा शुभकामना ज्ञापन गरेको छ । नगरपालिका प्रमुख खिलध्वज पन्थी, उपप्रमुख अमृतादेवी कुँवर, वडा नम्बर २ का वडाध्यक्ष हिरा बहादुर थापा लगायत वडा सदस्यहरूलाई विद्यालयको तर्फबाट बधाई तथा शुभकामना ज्ञापन गरिएको हो ।
विद्यालयका प्रधानाध्यापक प्रेम भण्डारीले विद्यालयको लागि सधैं सहयोग गरिरहने नेपाली काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थी नगरपालिकाको प्रमख भएकोले विद्यालयमा अझ बढी सहयोग हुने अपेक्षा रहेको बताउनुभयो ।