पाँच महिनाका लागि मन्त्री हेरफेर
काठमाडौं । एकीकृत समाजवादीबाट मन्त्री सिफारिस भएकाहरुलाई आज शपथ ग्रहण गराउने तयारी भइरहेको बताइएको छ । आज दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरुलाई शपथ ग्रहण गराउने भनिए पनि समय निश्चित भइनसकेको बताइएको छ ।
सत्ता गठबन्धन दल नेकपा एकीकृत समाजवादीले शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी भएको करिब ८ महिनापछि मन्त्रीको ‘सेट’ नै हेरफेर गरेको छ । प्रधानमन्त्री देउवालाई पठाइएको नाममा जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी शहरी विकास, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षा रहेका छन् । यसअघि स्वास्थ्य राज्यमन्त्री रहेका खापुङ स्वास्थ्य मन्त्रीमा बढुवा भएका छन् भने स्वास्थ्य राज्यमन्त्रीका रुपमा हिरा केसीले मन्त्रिपरिषदमा प्रवेश पाउने भएका छन् । कुँवर गैरसांसद हुन ।
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार सर्वोच्च अदालतको आदेशबाट विस्थापित भएपछि बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारमा गत असोजमा विरोध खतिवडाको नेतृत्वमा एकीकृत समाजवादीले चार मन्त्री र एक राज्यमन्त्री सरकारमा पठाएको थियो ।
खतिवडा स्वास्थ्य तथा जनसंख्यामन्त्री थिए भने शहरी विकास मन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र स्वास्थ्य राज्यमन्त्री भवानी खापुङ सरकारमा सहभागी थिए ।
सरकारबाट फिर्ता बोलाएका केही मन्त्रीहरुले पार्टीको निर्णयप्रति असन्तुष्टि जनाएका छन् । उनीहरुले आफूलाई किन र कुन कमिटीबाट फिर्ता बोलाइएको भन्ने जानकारी नभएको प्रतिक्रिया दिएका छन् ।