सिंगो प्रदेशकै स्वास्थ सेवालाई सृदृढ
बनाउँदै लगिएको छः मन्त्री थारु


गुल्मी, जेठ २४ गते ÷ लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारूले सिंगो प्रदेशकै स्वास्थ सेवालाई सृदृढ बनाउँदै लगिएको बताउनुभएको छ । गुल्मी अस्पलाको अनुगमन तथा निरिक्षणका लागि आकस्मिक रुपमा गुल्मी आउनुभएका स्वास्थ्यमन्त्री थारुले प्रेस सेन्टर नेपाल गुल्मीले आयोजना गरेको पत्रकार भेटभाटमा प्रदेशको स्वास्थ्य अवस्थालाई सृदृढ गर्ने सन्दर्भमा संक्रमणकालिन अवस्थामा रहेको बताउनुभयो ।

सरकारी छात्रवृत्तिबाट उत्पादित डाक्टर समेत पहाडी क्षेत्रमा आएर सेवा दिनका लागि तयार नभएको बताउँदै उहाँले सोही पक्षलाई ध्यान दिंदै प्रदेश सरकारले सरकारी छात्रवृत्तिबाट उत्पादित डाक्ट्ररलाई अनिवार्य रुपमा ३ महिना पहाडी तथा दुर्गम क्षेत्रमा पुगी सेवा गर्नुपर्ने कार्य विधि बनाएको बताउनुभएको छ । स्वस्थ जनशक्ति उत्पादन गर्ने उद्देश्यले प्रसूति सेवालाई सबै क्षेत्रमा प्रभावकारी बनाएर लैजाने समेत बताउनुभयो ।

सुत्केरीलाई पोषित कार्यक्रम लैजान आवश्यक रहेको उल्लेख गर्दै स्वास्थ्यमन्त्री थारुले अव्यवस्थित जीवनशैलीलाई व्यवस्थित बनाउनका लागि योगाभ्यास कार्यक्रमलाई समेत अगाडी बढाउने बताउनुभयो । सरकारी अस्पताललाई जनताले खोज्ने अवस्था सिर्जना भएकोले यसबाट प्रवाह गरिने सेवालाई प्रभावकारी र अझ गुणस्तरीय बनाएर लैजान समेत आवश्यक रहेको उल्लेख गर्नुभयो ।

साथै उहाँले प्रदेशले आगामी बजेटमा उत्पादनलाई बढाउने गरि बजेट ल्याउन लागेको पनि बताउनुभएको छ । अहिले अन्तर्राष्ट्रिय मुद्रा घटिरहेको अवस्थामा उत्पादनलाई बढाउने, आयातलाइ घटाउने, निर्यातलाई बढाउने र लगानीलाई प्राथमिकता दिई बजेट ल्याउन लागिएको बताउनुभयो। बजेटमा कृषि, स्वास्थ, शिक्षा, पूर्वाधार, सिचाइ र खानेपानीलाई प्राथमिक दिएर जाने गरि बजेट ल्याउने तयारी भइरहेको बताउनुभयो ।

गुल्मी अस्पतालको अनुगमन गर्नुभएका मन्त्री थारुले सामग्री सबै भएपनि गुल्मी अस्पतालमा भौतिक पूर्वाधारको अभावमा ओपिडिको समस्या भएको र बिरामी संख्या धेरै भएपनि जनशक्तिको अभावका कारण व्यवस्थापन फितलो भएको समेत बताउनुभयो ।

आयोजक संस्थाका अध्यक्ष तिलाचन पाण्डेको अध्यक्षता रहेको पत्रकार भेटघाट कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारू, नेकपा माओवादी केन्द्रका नेता वीरबहादुर कार्की, पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्याल, पूर्वअध्यक्ष जनार्धन घिमिरे लगायत जिल्लास्थित विभिन्न सञ्चार माध्यममा सक्रिया पत्रकारहरुको उल्लेखनिय सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन प्रेस सेन्टर गुल्मीका हुमाकान्त पोखरेलले गर्नुभएको थियो ।