रेसुंगामा साउने पुजा आरम्भ, यि दिन हुँदै छ बिशेष रौनक
मनु सुनार मनसुन गुल्मी, | बिहिबार, साउन ५, २०७९ मा प्रकाशित
विगत दुई वर्ष देखि कोभिड–१९ का कारण स्थगित भएको रेसुंगाको साउने पुजा यस वर्ष भने धुमधामका साथ सञ्चालन भइरहेको छ । जिल्लाको ऐतिहासिक एवम् धार्मिक पवित्र तिर्थस्थल रेसुंगामा एक महिने साउने पुजा यस वर्ष रौनकताका साथ सञ्चालन भइरहेको रेसुंगा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले जानकारी दिनुभयो । यस वर्ष जिल्लामा रहेका बस्नेतहरुको समन्व्यमा साउन १ गते स्याङ्जाको राम्दी देखि आएका १७ जना बटुकहरुद्वारा लघुरुद्री गरि एक महिने साउने पुजा शुभारम्भ गरिएको अध्यक्ष भुसालले जानकारी दिनुभयो ।
यस जिल्लामा रहेका बस्नेतहरुले रेसुंगाको सिद्धबाबालाई कुल देवताको रुपमा पुज्दै आएका छन् । सोही अनुसार साउन १ गते सिद्धस्थान मन्दिर तथा यज्ञशालामा बटुकहरुद्वारा लघुरुद्री गरि एक महिने साउने पुजा प्रारम्भ गरिएको अध्यक्ष भुसालको भनाइ छ । भुसालका अनुसार एक महिनाभर रेसुंगामा पण्डित हरिराज भट्टराई, ज्योतिषाचार्य केशवराज पौडेल, बालब्रम्चारी पाण्डव भट्टराई, वेधान्ताचार्य विशाल आचार्य, ढकाल पोखरेल, मिनराज पौडेल, कृष्ण पन्थी लगायतका ब्राह्मणहरुद्वारा दैनिक विभिन्न धार्मिक अनुष्ठानहरु सञ्चालन भइरहेका छन् ।
श्रावण ८ गते कामिका एकादशीका दिन रेसुंगा नगरपालिका वडा नम्बर–४ का देवराज पाण्डे र भीमबहादुर थापाको संयोजकत्वमा भक्तिसंगित कार्यक्रम गरिने भएको छ । सोही दिन धार्मिक अनुष्ठानसंगै भक्तिसंगित कार्यक्रममा सहभागी बन्न पनि अध्यक्ष भुसालले आग्रह गर्नुभएको छ । साउन महिनामा खिर भोजन गर्दा देह शुद्धि हुने धार्मिक मान्यता अनुसार श्रावण १२ गते औंसीका दिन बस्नेत परिवाहरुद्वारा नै खिर खुवाउने कार्यक्रम समेत राखिएको भुसालले जानकारी दिनुभयो । वेधान्ताचार्य विशाल आचार्यले श्रावण १६ गते देखि पुरानो परम्परा लोप नहोस् भन्ने उद्देश्यका साथ हातसारद्वारा वेद पारायण गर्ने कार्यक्रम रहेको छ ।
श्रावण २१ गते बिशेष भक्ति संगित प्रतियोगिता राखिएको अध्यक्ष भुसालले जानकारी दिनुभयो । यस जिल्लामा परम्परागत रुपमा गाइदै आएको भजन, किर्तनलाई जगर्ने गर्ने उद्देश्यका साथ जिल्लास्तरीय भक्ति संगित प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा जिल्लाका १२ वटै स्थानीयतहबाट प्रतियोगीहरु सहभागी बन्ने अध्यक्ष भुसालले जानकारी दिनुभएको छ । प्रतियोगितामा उत्कृष्ट हुनेलाई प्रोत्साहन स्वरुप पुरस्कृत समेत गरिने भएको छ । भक्तिसंगित प्रतियोगितामा प्रथम हुनेलाई रु २५ हजारले पुरस्कृत गरिनेछ । जसको सौजन्य रेसुंगा नगरपालिकाले गरेको छ । द्धितिय हुनेले रु २० हजार प्राप्त गर्नेछन् । जसको सौजन्य गुल्मीदरबार गाउँपालिकाले गरेको छ । तृतिय हुनेले रु १५ हजार प्राप्त गर्नेछन् । जसको सौजन्य कर्मचारी मिलन केन्द्र तम्घासले गरेको छ ।
पर्यावरण शुद्धताका लागि घिर्तधारा र लक्ष्य होम समेत दैनिक रुपमा सञ्चालन भइरहेको छ । सोही पुजनका लागि रेसुंगाको दर्शन गर्न जाँदा जौं, तिल, घिउँ, चिनि, मह, खुदो, चामल, धान, लगायतका होमन सामग्री लिएर आउन पनि अध्यक्ष भुसालले आग्रह गर्नुभएको छ ।
एक महिने साउन पुजा सम्पन्न गर्न १३ वटा उपसमिति गठन गरिएको छ । जसमा विश्वनाथ पन्थीको संयोजकत्वमा ७ सदस्यीय पुजा व्यवस्थापन उपसमिति, क्या.रामबहादुर थापाको संयोजकत्वमा ७ सदस्यीय ब्राह्मण व्यवस्थापन उपसमिति, पुस्कर पन्थीको संयोजकत्वमा ५ सदस्यीय होमन सामग्री संकलन उपसमिति, पदमलाल पाण्डेको संयोजकत्वमा १५ सदस्यीय गौशाला व्यवस्थापन उपसमिति, सुबेदार झकबहादुर बस्नेतको संयोकत्वमा ७ सदस्य गौशाला निर्माण उपसमिति, सचिव मोतीप्रसाद खनालको संयोजकत्वमा ५ सदस्यीय प्रचारप्रसार उपसमिति गठन गरिएको छ ।
यस्तै लुमबहादुर बस्नेतको संयोजकत्वमा ५ सदस्यीय यातयात व्यवस्थापन उपसमिति, संरक्षण समितिका वरिष्ठ उपाध्यक्ष थम्मन बहादुर खड्काको संयोजकत्वमा ७ सदस्यीय स्वंयमसेवक परिचालन उपसमिति, अध्यक्ष सुरेशचन्द्र भुसालको संयोजकत्वमा समन्वय तथा सम्पर्क उपसमिति गठन गरिएको छ । विभिन्न संघसंस्था र कार्यालयहरुसंग समन्वयका लागि सदस्यहरु अयोध्याप्रसाद श्रेष्ठ, रेमलाल पाण्डे, कृष्णप्रसाद भण्डारी, रामबहादुर पुन, दुर्गा पोखरेल सदस्य रहेको उपसमिति गठन गरिएको हो ।
देवराज पाण्डे र भिमबहादुर थापाको संयोजकत्वमा ७ सदस्यीय भक्तिसंगित व्यवस्थापन उपसमिति, कोषाध्यक्ष नेत्रबहादुर बस्नेतको संयोजकत्वमा शोभा मरासिनी सहितको ७ सदस्यीय आर्थिक संकलन उपसमिति, संरक्षण समितिका पूर्व अध्यक्ष रुद्रबहादुर भुजेलको संयोजकत्वमा पूर्व क्याम्पस प्रमुख दीन पन्थी सहितको ७ सदस्यीय अनुगमन उपसमिति गठन गरिएको छ । पुष्पकर पन्थीको संयोजकत्वमा ५ सदस्यीय गुठी व्यवस्थापन उपसमिति गठन गरिको छ । जसको सदस्यहरुमा रामचन्द्र पन्थी, गोपाल पन्थी र मोतीप्रसाद खनाल रहनुभएको छ । साउन महिनामा रेसुंगामा रहेको महापोखरीमा स्नान गरेमा सम्पूर्ण पाप नष्ट भई पुण्य तथा समृद्धि प्राप्त हुने धार्मिक जनविश्वास रहेको छ । चार धामबाट ल्याएको जल (पानी) रेसुंगाको पोखरीमा मिसाइएकोले रेसुंगापोखरीमा स्नान गरेमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । सोही अनुसार साउन महिनाभर रेसुंगामा बिशेष धार्मिक अनुष्ठानहरु सञ्चालन गर्ने गरिन्छ ।