महिला नेतृ भण्डारी सामाजिक सेवासँगै गाईपालनमा

गुल्मीको रेसुङ्गा नगरपालिका अर्खलेकी सावित्रा भण्डारीले गाईपालन सुरु गरेको दश वर्ष पुग्यो । रेसुङ्गा गाई फार्म विधिवत् रुपमा दर्ता गरी उन्नत जातका चार वटा गाई खरिद गरी व्यवसाय सुरु गर्नुभएकी भण्डारीको फार्ममा अहिले सानाठुला गरी २० वटा गाई छन् । उहाको फार्ममा होलस्टेन, जर्सी र साइवाल उन्नत जातका गाईहरु छन् ।

अहिले रेसुङ्गा नगरपालिका–४, अर्खलेकी महिला नेतृ समेत रहनुभएकी भण्डारीले गाईपालन व्यवसायबाट राम्रो आम्दानी लिन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्नुभएको हो । महिला हक अधिकार र सशक्तिकरणका लागि समाजमा अग्रणी भूमिका निर्वाह गर्दै आउनुभएकी भण्डारीले गाईपालन सुरु गरेको दश वर्ष पुग्यो ।

“गाईका लागि आवश्यक पर्ने दानामा बढी खर्च हुने गरेको छ । त्यसमध्ये पराल, गहुँको चापट, गहुँको ढुटो खरिद गर्नुपर्छ ।” उहाँले भन्नुभयो, “गाईका लागि पराल छल्दी, हुलाके फाँटबाट ल्याउछौं । दाना महङ्गो हुँदा गाईपालक कृषकहरुलाई बढी समस्या हुने गरेको छ ।”

दैनिक एउटा गाईले २० लिटर भन्दा बढी दुध दिने गरेको बताउँदै भण्डारीले भन्नुभयो, “दुध बिक्रिको लागि बजारको कुनै पनि समस्या छैन् । बिहान साँझ गरी दैनिक ९०÷९५ लिटर दुध रेसुङ्गा डेरीमा पठाउने गरेका छौं । सम्पूर्ण खर्च कटाएर मासिक ४०÷४५ हजार रुपियाँ आम्दानी हुन्छ ।” गाई फार्मको सम्पूर्ण काम एकजना कामदार र आफ्नो परिवारले गर्दै आएको बताउनुभयो ।

गाईपालक कृषकहरु लाई गाई पालनका लागि त्यति सहज भने छैन् । “कृषकले लाखौँ खर्चेर गाई किन्यौं । कतिपय गाई अनुत्पादक (बाँझा) पर्दछन् । बाच्छाहरु लाई व्यवस्थापनका लागि समस्या हुन्छ । यसतर्फ सरकारले सहयोग गरे धेरै कृषकहरु अनावश्यक खर्च कटौती गर्न सफल हुन्छन् । अनावश्यक आर्थिक व्ययभार खेप्नु पर्दैन् ।,” उहाँले भन्नुभयो, “पहाडी क्षेत्रमा पशुपालन गर्दा प्रशस्त घाँसको व्यवस्थापन गर्न कठिनाई हुन्छ । घाँस लगाउन आफ्नै जग्गाले पुग्दैन् । भाडामा जग्गा लिंदा महङ्गो पर्न जान्छ ।”

सरकारले कृषहरुको प्रोत्साहनका लागि उत्पादनमा आधारित अनुदान उपलब्ध गराएमा मात्र उनीहरुको उत्थान हुने उल्लेख गर्नुभयो । अनुदान खानकै लागि झोलामा कागजपत्र मिलाएर हिड्नेलाई होईन् वास्तविक कृषक पहिचान गरी अनुदान दिनुपर्ने उहाँको भनाई छ । “स्थानीय सरकारले पनि पशु शाखामा अनिवार्य रुपमा पशु प्राविधिक र पशुका लागि आवश्यक औषधिको राम्रो प्रवन्ध मिलाउनु पर्छ ।,” उहाँले भन्नुभयो, “बस्तुभाउ बिरामी पर्दा तत्काल प्राविधिक उपलब्ध गराइदिन सक्नुप¥यो ।” प्रशस्त घाँसको व्यवस्थापन, पशुपालन सम्बन्धि प्राविधिक ज्ञान र बजारको सुनिश्चितता गरेर मात्र पशुपालन व्यवसाय सञ्चालन गर्न सकिने उहाँले बताउनुभयो ।