गुल्मीमा मतदाता भेट्दै उम्मेदवार,
मंसिरमा हुने निर्वाचन लक्ष्यित गतिविधि तीव्र

गुल्मीमा आसन्न मंसिर ४ मा हुने निर्वाचनलाई लक्ष्यित गरि राजनैतिक दलहरुले मतदाता भेटघाट अभियानलाई तीव्र पारेका छन् । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाका उम्मेदवारहरुले मतदाता भेटघाटलाई तीव्रता दिएका हुन् । सत्तागठबन्धनक उम्मेदवारहरु पनि यतिबेला मतदातासंग उनीहरुका समस्या बुझ्न तथा आफ्ना कुराहरु राख्नका लागि व्यस्त भइरहेका छन् । 

उनीहरु आफ्ना विभिन्न प्रतिवद्धताहरु बोकेर मतदातासंग भेट गरिरहेका छन् । उम्मेदवारहरुसंग मतदाताहरुले विभिन्न समस्याहरु राख्ने गरेका छन् । जिल्लाको रेसुंगा नगरपालिका वडा नम्बर ३ भाडगाउँका स्थानीयहरुले उम्मेदवारहरुसँग मोटरबाटोलाई सुगम बनाई दिन आग्रह गरेका छन् ।
शनिबार आफ्ना प्रतिवद्धताहरु सुनाउन त्यहाँ पुग्नुभएका गुल्मी क्षेत्र नं २ प्रतिनिधि सभाका सत्तागठबन्धनका साझा उम्मेदवार रामकुमारी झाँक्री तथा सोही क्षेत्रको प्रदेश सभा ‘क’ का उम्मेदवार भुवनप्रसाद श्रेष्ठ तथा समानुपातिका पदका उम्मेदवाहरुसँग मतदाताहरुले सडकलाई स्तरोन्नती गरी सहज बनाईदिन माग गरेका हुन् ।
पूर्व वडाअध्यक्ष समेत रहनुभएका स्थानीय थम्मन केसीले बाटोघाटो नै मुख्य आवश्यकता रहेको बताउनुभयो । केसीले भन्नुभयो,–‘वर्षा भयो की मोटरबाटो अवरुद्ध हुने, मानवस्ती जोखिममा पर्ने लगायतका समस्याहरुसंग भाडगाउँबासी जुध्दै आएका छौं ।’
नेपाली काँग्रेसका जिल्ला सहसचिव समेत रहनुभएका स्थानीय धर्मराज पाण्डेले त्यहाँका जनताले विकासको लहर देख्न नपाएको बताउनुभयो । उहाँले अहिले पनि सडककै समस्याका कारण सदरमुकाम नजिकैको वडा भएपनि बत्तिमुनिको अध्याँरो जस्तो भएको बताउनुभयो ।
संयुक्त गठबन्धन निर्वाचन परिचालन समितिका संयोजक एवम् काँग्रेस सभापति तथा रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले विगत पाँच वर्षमा गर्न नसकेको काम आफुहरु निर्वाचित भएर आएको पाँच महिनामै गरेको बताउनुभयो । जनताको जीवनसंग प्रत्यक्ष जोडिएका मुख्य समस्याहरुलाई नै सम्बोधन हुने गरी नीति र कार्यक्रमहरु बनाएर स्थानीय सरकार अगाडी बढेको उल्लेख गर्नुभयो । प्रदेशसभा सदस्य समानुपातिका पदकी उम्मेदवार विष्णुकुमारी सापकोटाले सत्तागठबन्धन राष्ट्रिय आवश्यकताले बनेको बताउनुभयो । उहाँले सुदूर विकासका लागि आफुहरुको विजय आवश्यक रहेको बताउनुभयो ।
गुल्मी क्षेत्र नं. २ प्रदेश सभा ‘क’ का उम्मेदवार भुवनप्रसाद श्रेष्ठले आफू तत्कालिन समयमा गाविस अध्यक्ष हुँदा थुप्रै विकासका कार्यको सुरुवात गरेको बताउनुभयो । यस जिल्लामा पहिलोपटक लिफ्टिङ प्रविधि भित्राएर खानेपानी जनताको घरघरमा पु¥र्याएको स्मरण गर्दै उहाँले भन्नुभयो,–‘तपाईको सेवा गर्ने मौका दिनुहोस् । यस ठाउँबाट पटक– पटक निर्वाचित भएर गएकाहरुले गर्न नसकेको काम एउटै कार्यकालमा गरेर देखाउनेछु ।’ तत्कालिन समयमा आफ्नै पार्टी सरकारमा रहँदा पाँच नम्बर प्रदेशबाट गुल्मीलाई टुक्र्याउन लाग्दा आफू निडरताका साथ त्यस कार्यको आफ्नै मूल नेतृत्वमा विरोधमा उत्रिएको स्मरण गराउँदै श्रेष्ठले आफ्नो लागि नभई जनताको जिवनस्तर उकास्नका लागि राजनीतिमा होमिएको बताउनुभयो ।
प्रतिनिधि सभा सदस्य पदकी उम्मेदवार रामकुमारी झाँक्रीले जिल्लामा थुप्रै समस्याहरु रहेको बताउँदै त्यस्ता समस्याहरुको समाधानका लागि नीति निर्माणको तहमा सही नीति निर्माण गरी जिल्लालाई विकासको सही दिशामा लैजाने बताउनुभयो । अहिले पनि मोटरबाटो, विद्युत, दुरसञ्चार, स्वास्थ्य लगायतका जनताका आधारभूत आवश्यकताहरुको समाधानका लागि थुप्रै काम गर्नुपर्ने भएकाले पनि सत्तागठबन्धनको जीत आवश्यक रहेको दाबी गर्नुभयो ।