प्रधानसेनापति अन्तर्राष्ट्रिय ट्राइएड्भेन्चर प्रतियोगिता मंसिर ९ गते हुने
प्रतियोगितामा १० विदेशी र १५ नेपाली गरी २५ टिमको सहभागिता रहने
काठमाडौं । नेपाली सेनाको आयोजनामा हुने प्रधानसेनापति अन्तर्राष्ट्रिय ट्राइएड्भेन्चर प्रतियोगिताको पाँचौं संस्करण मंसिर ९ गते आयोजना हुने भएको छ ।
नेपाली सेनाको एड्भेन्चर स्पोर्टसले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी पाँचौं संस्करणको अन्तर्राष्ट्रिय ट्राइएड्भेन्चर प्रतियोगिता मंसिर ९ गते आयोजना हुने जानकारी दिएको हो ।
प्रतियोगितामा १० विदेशी र १५ नेपाली गरी २५ टिमको सहभागिता रहने सेनाले जानकारी दिएको छ । भारत, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, चीन, बेलायत, अमेरिकालगायत १० देशलाई निमन्त्रणा गरिएकोमा बेलायत र भारतबाट सहभागिता निश्चित रहेको सेनाले जानकारी दिएको छ । भारतबाट तीनवटा टिमले सहभागिता जनाउँदैछन् । मंसिर १ गतेसम्म टिम दर्ता अवधि तोकिएको छ ।
धादिङको बैरेनीदेखि चरौँदीसम्म सञ्चालन हुने प्रतियोगितामा ६.७ किलोमिटर दौड, २६ किलोमिटर साइक्लिङ र ११ किलोमिटर र्याफ्टिङ गर्नुपर्नेछ । एउटा टिममा ४ जना खेलाडी हुनेछन् । सुरुवातदेखि अन्तिमसम्म चारजनाले सँगै दूरी पूरागर्नुपर्ने जनाइएको छ । प्रतियोगिताको विजेता टिमले २ लाख, उपविजेताले १ लाख ५० हजार र तेस्रो हुनेले १ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । चौथो र पाँचौं हुने टिमले क्रमसः २० र १० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
दौड, साइक्लिङ र र्याफ्टिङ गरी तीन विधाको शाहसिक खेल समावेश गरी नेपाली सेनाले २०७१ सालदेखि ट्राइएडभेन्चर प्रतियोगिता आयोजना गर्दै आएको छ ।