रवि लामिछानेको पार्टीले सार्वजनिक गर्यो चुनावी वाचा, वाचा पूरा नभए कारवाही भोग्न तयार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि चुनावी वाचापत्र सार्वजनिक गरेको छ ।
बिहीबार रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले एक कार्यक्रमकाबीच निर्वाचनका लागि वाचापत्र सार्वजनिक गरेको हो । सो पार्टीले आफ्नो वाचापत्रमा संघीय सरकार जनताद्वारा प्रत्यक्ष निर्वाचित हुने प्रधानमन्त्रीको प्रस्ताव अघि सारेको छ । त्यस्तै वडाध्यक्षदेखि संघीय संसद्सम्म सम्मिलित बृहत् निर्वाचन मण्डलबाट राष्ट्रपति चुनिने प्रस्ताव अघि सारेको छ ।
राष्ट्रपतिमा निर्वाचित हुनका लागि कुनै पनि राजनीतिक दलमा नलागेको वा राजनीतिक लाभ नलिएको १० वर्ष पूरा भएको वंशज नेपाली नागरिक हुनुपर्ने सो पार्टीको एजेन्डा छ । उपराष्ट्रपति राष्ट्रिय सभाका अध्यक्ष हुने व्यवस्था गर्ने पनि सो पार्टीको एजेन्डामा छ ।
वाचापत्र सार्वजनिक गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफ्नो पार्टी संसदमा जान तम्तयार भएर बसेको बताएका छन् । उनले जनताका सामान्य भन्दा सामान्य माग र चाहनालाई वाचा पत्रमा समेटेको बताए । अध्यक्ष लामिछानेले आफू देशदौडाहामा निस्किएको बेला जनताले पिउने पानी, बत्ती, पढ्न र उपचार जस्ता सामान्य कुरा माग गरेको भन्दै यी कुरा जनताका अधिकार भएकाले अहिले नेताहरुले तिनै कुरा दिन्छौं भनेर चुनावमा आश्वासन बाँडेको बताएका छन् । उनले छोटो समयमा ६२ जिल्लामा पार्टीलाई विस्तार गर्न सफल भएको दाबी समेत गरेका छन् । अध्यक्ष लामिछानेले आफूले चुनावमा गरेका बाचा पूरा नगरे मतदाताले जस्तो कारबाही गरे पनि भोग्न तयार रहेको बताउएका छन् ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्रमा प्रदेशमा पनि जनताद्वारा निर्वाचित मुख्यमन्त्री रहने व्यवस्था हुनुपर्ने उल्लेख गरिएको छ । सो पार्टीले वि.सं. २११० सम्ममा नेपालमा गरिबीको रेखामुनि रहेका नेपालीको संख्या शून्य हुने, नेपाल विश्वकै शान्ति क्षेत्रका रूपमा स्थापित हुने र विश्वकै घुम्नलायक पर्यटकीय गन्तव्यका रूपमा रहने पनि वाचापत्रमा उल्लेख छ ।
आगामी २११० सम्म कुनै पनि नेपाली रोजगारीका लागि विदेश जान नपर्ने पनि सो पार्टीले वाचा गरेको छ । त्यस्तै नेपाल विश्वमै न्यून भ्रष्टाचार हुने मुलुकमा पर्ने वाचापत्रमा उल्लेख छ ।