भक्तपुर – २ मा थापा र बस्नेतबीच रोचक प्रतिस्पर्धा !
भक्तपुर । भक्तपुरमा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि विभिन्न राजनीतिक दलले घरदैलो अभियानलाई तीव्रता दिएका छन् ।
नेपाली कांग्रेस सहितको सत्ता गठबन्धन दल, नेकपा (एमाले), नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलका उम्मेदवार निर्वाचनलाई आफ्नो पक्षमा पार्न मतदातका घरघरमा पुगिरहेका छन् । भक्तपुरको क्षेत्र नं २ मा रोचक प्रतिष्पर्धा हुने देखिएको छ ।
कांग्रेसका दुलर्भ थापा र एमालेका महेश बस्नेतबीच मुख्य प्रतिपर्धा हुने देखिएको छ । कांग्रेसका उम्मेदवार थापाले मतदाताको आधारभूत आवश्यकता पुरा गर्ने गरि काम गर्ने बताएका छन् । अझै पनि संविधानले ग्यारेन्टी गरेका अधिकारहरु स्थापीत हुन नसकेको भन्दै उनले आफ्नो ध्यान संविधानको कार्यान्वयन संगै जनताको अधिकार पूर्ण गर्नेमा केन्द्रीत हुने धारणा राखेका छन् । उनले मुलुकमा लोकतान्त्रीक गणतन्त्र आएको धेरै बर्ष भएपनि जनताले महशुस गर्न नसकेको बताए ।
त्यस्तै एमालेका उम्मेदवार बस्नेतले पाँच बर्ष अगाडी जनताले आफुहरुलाई शंकाको दृष्टिले हेरेपनि अहिले पनि सवै शंका हटिसकेको दावी गरेका छन् । बिगतमा एमालेले भनेको भन्दा धेरै काम गरेर देखाएको र आगामी दिनमा बाँकी कामहरुलाई पुरा गर्ने उनले बताए ।
यसअघिको प्रतिनिधिसभा निर्वाचनमा एमालेका महेश बस्नेत भारी मताअन्तरले बिजयी भएका थिए । कांग्रेसले पूर्वसभामुख दमननाथ ढुंगानालाई टिकट दिएको थियो । यसपटक सता गठबन्धनले भक्तपुरमा सिट बाँंडफाँटमा प्रतिनिधि सभातर्फ क्षेत्र नं २ को प्रतिनिधि सभाको भाग कांग्रेसले पाएको थियो । क्षेत्र नं १ भने माओवादी केन्द्रको भागमा परेको छ । प्रतिनिधिसभातर्फ भक्तपुर क्षेत्र नं १ मा नेपाल मजदुर किसान पार्टीका तर्फबाट प्रेम सुवाल ,सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का सुनिल गोठे र एमालेका नवराज गेलाल उम्मेदवार हुनुुहुन्छ ।
भक्तपुर क्षेत्र नं २ मा भने नेपाली कांग्रेस र नेमकिपाले आलोपालो जित्दै आएकामा २०७४ मा एमालेका महेश बस्नेत विजयी भएको उक्त क्षेत्रमा २०४८ मा कांग्रेसका जगन्नाथ आचार्य, २०५१ मा नेमकिपाका आशाकाजी वासुकला, २०५६ मा कांग्रेसका लेखनाथ न्यौपाने, २०६४ मा नेमकिपाका सुनिल प्रजापति, २०७० मा कांग्रेसका रामेश्वर ढुङ्गेल र २०७४ सालमा एमालेका महेश बस्नेतले जितेका थिए ।
एमालेका बस्नेतले ३६ हजार ४१२ मत ल्याएर विजयी हुँदा कांग्रेसका दमननाथ ढुङ्गानाले १८ हजार ६८७ मत ल्याएका थिए । त्यतिबेला बस्नेतलाई माओवादीसहितको वाम गठबन्धनले सघाएको थियो । नेमकिपाका अनुराधा थापामगरले पाँच हजार ४७१ मत ल्याएर तेस्रो भएकी थिइन् ।
बस्नेतले अत्यधिक मतका साथ विजय हासिल गर्नुमा वाम गठबन्धनको फाइदा त थियो नै २०७४ को स्थानीय तहको निर्वाचनको परिणाम र कांग्रेसका उम्मेदवार ‘टुरिस्ट’ हुनु पनि प्रमुख कारण थियो ।
विसं २०७४ को स्थानीय तहको निर्वाचनमा आफ्नो बलियो गढका रुपमा रहेको मध्यपुरथिमि नगरपालिकामा कांग्रेसले नगरप्रमुख गुमायो ।
कांग्रेसले यस क्षेत्रमा सांसद मात्र गुमाएन । सङ्घीय संसद् र प्रदेशसभा सदस्यका लागि सम्पन्न उक्त निर्वाचनमा एक सिट पनि जित्न सकेन । जिल्लामा पहिलो दलका रुपमा रहेको कांग्रेस तेस्रोमा खुम्चिन पुगेको थियो ।
अहिले परिस्थिति फेरिएको छ । गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा कांग्रेस पहिलो शक्तिका रुपमा उदय भएको छ । चार स्थानीय तह भएको भक्तपुरमा कांग्रेसले दुई पालिका मध्यपुरथिमि र चाँगुनारायण नगरपालिकाको प्रमुखमा जितेको छ । सूर्यविनायक नगरपालिकामा कांग्रेस पहिलेको तुलनामा थप मजबुत देखिएकाले एमालेको आन्तरिक मूल्याङ्कनमा भक्तपुर–२ लाई सहज नहुने क्षेत्रका रुपमा नभई जित्नसक्ने सम्भावित क्षेत्रका रुपमा लिइएको हो ।
भक्तपुरमा कांग्रेस आफैँमा बलियो मात्र भएको छैन, यसपटक उसलाई सत्ता गठबन्धनको फाइदा पनि देखिएको छ । पहिलेको तुलनामा सङ्गठन मजबुत भएको कांग्रेस क्षेत्र नं २मा सत्ता गठबन्धनको समेत फाइदा उठाउँदै आफ्नो गुमेको सिट फिर्ता ल्याउने रणनीतिमा रहेको छ भने अर्कोतर्फ एमालेका पोलिटब्युरो सदस्यसमेत रहनुभएका सांसद बस्नेत पुनःनिर्वाचित हुने दाउमा रहेका छन् ।