मानवअधिकार तथा शान्ति समाज गुल्मी शाखाको सभापतिमा ढुण्डीराज पोखरेल निर्वाचित

मानवअधिकार तथा शान्ति समाज गुल्मी शाखाको सभापतिमा ढुण्डीराज पोखरेल निर्वाचित हुनुभएको छ । शनिबार सदरमुकाम तम्घासमा भएको दोश्रो साधारण सभाको अवसरमा पोखरेल पुनः सभापतिमा निर्वाचित हुनुभएको हो । उपसभापतिमा डोरविक्रम श्रीस, सचिवमा गणेश अधिकारी, सहसचिवमा बालसिंह खत्री, कोषाध्यक्षमा शान्ति नेपाली निर्वाचित हुनुभएको निर्वाचन अधिकृत चन्द्रकान्त पन्थीले जानकारी दिनुभयो ।

त्यस्तै, सदस्यहरुमा निर्मला अर्याल, लक्ष्मी अर्याल, दिलिपकुमार थापा, रमेश विश्वकर्मा, रामकृष्ण पौडेल, रामबहादुर बस्नेत, कमलप्रसाद अर्याल, मुना बराल, सुरेश परियार, शारदा भलामी निर्वाचित हुनुभएको निर्वाचन अधिकृत पन्थीले जानकारी दिनुभयो ।

त्यस अवसरमा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले राजनीतिक दलहरू कमजोर हुँदा लोकतन्त्र खतरामा पर्ने बताउनुभएको छ । दोस्रो साधारण सभालाई सम्बोधन गर्न तम्घासमा आउनुभएका उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले राजनीतिक दलहरुले शुद्धिकरण गर्न नसक्दा लोकतन्त्र कमजोर हुनसक्ने बताउनुभयो । “लोकतन्त्रमा राजनीतिक दलहरु मजबुत हुनुपर्छ, राजनीतिक दलहरू स्वस्थ हुनुपर्छ । राजनीतिक दलहरूले शुद्धीकरण गर्न नसक्दा समस्या भएको छ ।” उहाँले भन्नुभयो,–“मानव अधिकारको विकासका लागि लोकतन्त्रलाई बलियो बनाउनुपर्छ । स्वतन्त्रता मानिसको जन्मसिद्ध र नैसर्गीक अधिकार हो ।”

लोकतन्त्र बलियो नभए मानव अधिकारहरु खतरामा पर्ने भन्दै मानव अधिकार तथा शान्ति समाज यसप्रति चनाखो रहेको उहाँले बताउनुभयो । शान्ति समाजले, लागू औषध दुव्र्यसनी विरुद्ध सचेतना, छोरी पढाउ भन्ने लगायतका विभिन्न विषयमा महत्वपूर्ण अभियान सञ्चालन गरिरहेको सभापति खनालले बताउनुभयो ।

केन्द्रीय उपसभापति कृष्ण रावलले नेतालाई नभई नीतिलाई प्रमुख मान्ने मानव अधिकार तथा शान्तिवादी संस्था भएको बताउनुभयो । अहिले राजनीतिक पार्टीका घोषणा पत्रमा मानवअधिकारका विषय समावेश नभएको समेत उहाँले उल्लेख गर्नुभयो । संविधानमा व्यवस्था भएको मौलिक हक स्वतन्त्र ढंगले उपभोग गर्न पाए मात्र मानव अधिकार सुनिश्चित हुने रावलको भनाई छ ।

केन्द्रीय पर्यवेक्षक विष्णु प्रसाद भुसाल, गुल्मी जिल्ला अदालत बार एशोसीयसनका चिरञ्जिवी शर्मा, नागरिक समाज गुल्मीका संयोजक पदम प्रसाद पाण्डेय, सुशासन अभियान गुल्मीका विनोद पाण्डे, नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्याल आतिथ्यता रहेको साधारण सभाबाट नयाँ नेतृत्व समेत निर्वाचित गरिएको थियो ।