निर्वाचनको व्यवस्थापकीय र सुरक्षाका सवै तयारी पूरा : आयोग
काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको तयारी पूरा भएको जनाएको छ ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोगले निर्वाचनको व्यवस्थापकीय लगाएत सुरक्षाका सवै तयारी पूरा भएको जनाएको हो । निर्वाचनका लागि बिहीबार राती १२ बजेदेखि मौन अवधि सुरु हुने र चूनावी प्रचार गर्न नपाईने आयोगले जानकारी दिएको छ । पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मौन अवधिमा कुनै पनि माध्यमबाट मत माग्न नपाईने, प्रचार प्रसार गर्न नपाईने बताउनुभयो ।
मतगणनाको काम नभएसम्म सभा, जुलुश लगाएतका प्रचार प्रसारको काम गरे २५ हजारसम्मको जरिवाना गर्ने उहाले बताउनुभयो । निर्वाचनमा एक करोड ८८ लाख ७९ हजार ५७० मतदाताले १० हजार ८ सय ९२ मतदानस्थलबाट मतदान गर्नसक्ने थपलियाले जानकारी दिनुभयो । उहाँले निर्वाचन बिथोल्ने, बुथ कब्जा गर्ने लगाएत कुनै पनि निर्वाचन बिरोधी कामलाइ रोक्नका लागि आवश्यक सुरक्षा तयारी गरिएको बताउनुभयो ।
निर्वाचनमा मतदाताभन्दा बढी मत नहुने भन्दै थपलियाले अस्वभाविक मत खसेको पाईए पुनः निर्वाचन गराउने स्पष्ट पार्नुभयो । त्यस्तै थपलियाले मतपेटिका संकलनपछि मतगणना सुरु गर्ने र मंसिरको २२ गतेसम्म अन्तिम नजिता लिएर राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाउने तयारी रहेको धारणा राख्नुभयो ।
आयोगले राष्ट्रिय तथा अन्तराष्ट्रिय गरी ७ हजार २१९ जनाले निर्वाचन पर्यवेक्षणका लागि अनुमति लिएको र उनीहरुले पर्यवेक्षण गर्ने जनाएको छ । मंसिर चार गते हुने निर्वाचनमा प्रतिनिधि सभाको प्रत्यक्षतर्फ २ हजार ४१२ र २ हजार १९९ समानुपातिक गरी कुल ५ हजार ६३६ उम्मेदवार बन्दसूचीमा रहेको र प्रदेशको प्रत्यक्षतर्फ ३ हजार २२४ र समानुपातिकतर्फ ३ हजार ७०८ उम्मेदवार बन्दसूचीमा रहेको आयोगले जनाएको छ ।