काठमाडौं–९ मा एमालेका कृष्णगोपाल विजयी

काठमाडौं । काठमाडौं क्षेत्र नंं९ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का कृष्णगोपाल श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठ ११ हजार ९५६ मत प्राप्त गर्दै विजयी भएका हुन् । श्रेष्ठका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले १० हजार ९६१ मत प्राप्त गरेका छन् ।
सत्ता गठबन्धनकी उम्मेदवार नेकपा माओवादी केन्द्रकी कल्पना धमला ६ हजार ४०२ मतसहित तेस्रो स्थानमा सीमित भएकी छिन् ।
काठमाडौंमा लगातार आठौं पटक संसदीय निर्वाचन लडेका श्रेष्ठको यो चौथो जित हो । उनी २०४९, २०५१ र २०७४ सालका आम निर्वाचनमा विजयी बनेका थिए ।
२०४९ सालमा काठमाडौंका दुई क्षेत्रबाट विजयी नेकपा (एमाले)का तत्कालीन महासचिव मदनकुमार भण्डारीले छाडेको क्षेत्र नं। ५ को उपनिर्वाचनमा श्रेष्ठ विजयी भएका थिए ।
२०७० सालको निर्वाचनपछि एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले छाडेको काठमाडौं–२ को उपनिर्वाचन (२०७१) मा भने उनी पराजित भएका थिए । त्यस्तै, २०५६ को संसदीय तथा २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा पनि उनी पराजित भएका थिए ।