गुल्मीमा ७ हजारभन्दा बढी मत बदर
गुल्मी । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गुल्मी जिल्लामा ७ हजारभन्दा बढी मत बदर भएको पाइएको छ ।
दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष तर्फ ७ हजार ६१ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जानकारी दिएको छ ।
क्षेत्र नम्बर १ मा प्रतिनिधि सभातर्फ १८२५ र प्रदेश सभातर्फ १६५९ मत बदर भएको छ भने क्षेत्र नम्बर २ मा प्रतिनिधि सभातर्फ १८९३ र प्रदेश सभातर्फ १६८४ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय गुल्मीका सूचना अधिकारी मेघलाल पाण्डेले बताएका छन् ।
जिल्लामा २ लाख २३ हजार ६१५ मतदाता मध्ये १ लाख २८ हजार ९७५ जनाले मतदान गरेका थिए ।
दलहरु गठबन्धन गरेर जानु र गाउँगाउँमा मतदाता शिक्षा नपुग्नुले जिल्लामा धेरै संख्यामा मत बदर भएको अनुमान छ ।