यू १९ राष्ट्रिय क्रिकेट : बागमतीद्वारा कर्णाली प्रदेश ७ विकेटले पराजित
काठमाडौं । यू १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले आफ्नो अपराजित यात्रा जारी राखेको छ । टियु क्रिकेट मैदानमा भएको खेलमा बागमतीले कर्णाली प्रदेशलाई ७ विकेटले पराजित गरेको हो । कर्णालीले दिएको १ सय ३१ रनको लक्ष्य बागमतीले ३०.१ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो । बागमतीको जितमा कप्तान अशोक पौडेलले ६४ बलमा ५९ रनको अर्धशतकीय ईनिङ खेले । लकि कडायतले ९२ बलमा अविजित ५१ रनको अर्धशतकी ईनिङ खेले ।
कर्णालीका लागि अनुज चुनारा,युनिश सिंह र आवास शाहले समान १–१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको कर्णालीले ३६.२ ओभरमा अलआउट हुदै १ सय ३० रन बनाएको हो । कर्णालीका लागि कप्तान विपीन रावलले ९२ बलमा ६८ रनको अर्धशतकीय ईनिङ खेले । मनिश थापाले ३५ बलमा २५ रन जोड्दा अनिरुद्ध कवार ११ रनका आउट भए । अपराजित बागमती जित हात पारेर ८ अंक सहित अंक तालिकाको दोस्रो स्थानमा कायमै छ । बागमतीसँग पराजित कर्णाली प्रतियोगिताबाट बाहिरिएको छ ।
यस्तै प्रदेश १ ले मधेश प्रदेशमाथी सहज जित हात पारेको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलमा मधेशमाथी प्रदेश १ ले १० विकेटको जित हात पारेको हो । खराब मौसमका कारण केही ढिला सुरु भएको खेल ४५ ओभरमा झारिएको थियो ।
मधेशले दिएको ७१ रनको लक्ष्य प्रदेश १ ले १९.२ ओभरमा कुनै विकेट नगुमाई पुरा गर्यो । त्यसअघि पहिले ब्याटिङ गरेको मधेशले ३१।३ ओभरमा अलआउट हुदै ७० रन बनाएको थियो । मधेशका लागि मयन यादवले १९ तथा डब्लु मल्लिकले १२ रन बनाए ।
जितसँगै प्रदेश १ ले फाईनल पुग्ने सम्भावना जिवित राखेको छ । प्रदेश १ को ४ खेलबाट ४ अंक भएको छ । मधेश ३ खेलमा अंकबिहिन रहेर अंक तालिकाको पुछारमा रहेको छ ।
प्रतियोगितामा प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले २ लाख नगद प्राप्त गर्दा उपविजेताले १ लाख नगद पाउने छन् ।