बाजुरा र स्याङ्जामा मतगणना सुचारु गर्न आयोगको निर्देशन
काठमाडौँ । बाजुरा र स्याङ्जाको मतगणना सुचारु गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ ।
बुधबार बसेको आयोगको बैठकले मंसिर ४ गते भएको निर्वाचनलाई सदर गर्दै बाजुरा र स्याङ्जा–२ को विवादले रोकिएको मतगणना थाल्न निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन पठाएको हो ।
स्याङजा २ चापाकोट नगरपालिकाका ४ वटा मतदान केन्द्रमा नेपाली कांग्रेसले बुथ कब्जा गरेको भन्दै नेकपा एमाले लगायत केही राजनीतिक दलले पुनः मतदानको माग गरेका थिए ।
बुथ कब्जा गरेर मृत्यु भएका र विदेशमा रहेका मतदाताको नाममा पनि मत खसालेको भन्दै सुरु भएको स्याङ्जा–२ को विवाद जिल्लास्तरबाट सुल्झन नसकेर आयोगमा आइपुगेको थियो ।
बाजुरामा एमालेले ८ र कांग्रेसले १६ ठाउँमा बुथ कब्जा गरेको एकअर्काको आरोप छ । बाजुराकै बुढीनन्दा–५ मा स्थगित मतदान भने भइसकेको छ।