महिलाको समूहले कुटेर महिलाको मृत्यु, मृतक एकल महिलाको पक्षमा नाराबाजी
सुनसरी । महिलाहरुको समूहले कुटपीट गर्दा मृत्यु भएकी धरान १३ की उषा राईको पक्षमा न्याय माग्दै धरानका महिलाहरुले प्रदर्शन गरेका छन् ।
कुटपिटमा संलग्नहरुलाई पक्राउ गरी कारवाही गर्न माग गर्दै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मर्चरी विभाग र इलाका प्रहरी कार्यालय धरान अघि महिलाहरुले नाराबाजी गरेका हुन् ।
प्रहरीले मुख्य आरोपी उर्मिला राईलाई पक्राउ गरेको छ भने उनका श्रीमान् गोविन्द राईसहित कुटपिटमा सम्लग्न सबैलाई पक्राउ गरिनुपर्ने आन्दोलनकारी महिलाहरुको माग छ ।
उर्मिला राईको नेतृत्वमा गएको समूहले एकल महिला माथि कुटपिट गरेको भिडियो समेत सामाजिक सन्जालमा भाइरल भएको छ ।
आमा समूहका नाममा महिलामाथि नै भौतिक आक्रमण र हिंसा हुँदै आएको स्थानीयबासिन्दाको आरोप छ ।
आमा समूहकी पूर्व अध्यक्षसमेत कुटपिटमा संलग्न भएकाले आमा समूहको बदनाम भएको जनजागृति आमा समूहकी अध्यक्ष निर्मला तिम्सिनाको भनाइ छ । समूहले पत्रकार सम्मेलन गर्दै घटनामा आमा समूहको सम्लग्नता नरहेको स्पष्ट पारेको छ ।
स्थानीयका अनुसार मृतक उषामाथि आमा समूहको नाममा कात्तिक ३ गते महिलाहरुको एक समूहले कुटपिट गरेको थियो । कुटपिटपछि घाइते उनलाई तत्काल बिपी प्रतिष्ठान धरानको सघन कक्षमा उपचारका लागि पुर्याइएको थियो ।
उपचारपछि डिस्चार्ज गरिएको उषाको स्वास्थ्य अवस्था मंसिर ६ गते पुनः बिग्रिएको थियो । अस्वस्थ भई अस्पताल भर्ना भएकी उषाको मंगलबार मृत्यु भएको थियो ।
अहिले उनको शव बिपी प्रतिष्ठानको मर्चरीमा राखिएको छ । आरोपी पक्राउ नगरी पोस्टमार्टम नगर्ने परिवारले अडान लिंदै आएका छन् । आरोपीको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठले जानकारी दिएको छ ।
धरान १३ मा डेरा गरी बस्ने उषा सिलाइबुनाइ पेशा गर्दै जीविकोपार्जन गर्दै आएकी थिइन् । मृतक उषाका श्रीमानको दुई वर्ष अघि मृत्यु भएको थियो । उनका दुई छोरी छन् ।