पद्माले दिइन धनराजलाई बधाई, सहकार्य गर्ने प्रतिबद्ध
काठमाडौं । स्याङ्जा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङलाई नेकपा एमालेको तर्फबाट प्रतिस्पर्धी नेता पद्मा अर्यालले बधाई दिएकी छन् ।
बुथ कब्जा गरिएको मतबाट गुरुङ निर्वाचित भएको भन्दै अर्यालले उक्त मतलाई नस्वीकार्ने बताउँदै सबै कुरा भुलेर स्याङ्जाको विकासमा सहकार्य गर्न आफू प्रतिबद्ध रहेको जनाएकी छिन् ।
आइतबार बिहान सामाजिक सन्जालमा अर्यालले लेखेकी छन्, ‘हामीले भनेको एउटै कुरा थियो जनताको मतबाट हामी पराजित हुन तयार छौं । त्यसलाई हामी सहज रुपमा स्विकार गर्दछौं तर कब्जा गरी खसालिएको मतलाई हामी स्वीकार गर्दैनौं । किनकी लोकतन्त्र र कब्जा आपसमा मेल नखाने विषय हुन् । हाम्रो जायज माग तपाईंले सुन्नु भएन र राज्यबाट समेत पनि सुनुवाइ भएन । खैर तपाईंलाई पुनः बधाई छ ।’
मंसिर ४ को निर्वाचनमा बुथ कब्जा भएको प्रमाण भएको, मृतक र विदेशमा रहनेका नाममा समेत मतदान गरिएको अर्यालको दावी छ । त्यही मुद्दा उठाउँदै अर्यालले पुनः मतदानको माग गरेकी थिइन् । तर निर्वाचन आयोगले पुनः मतदानको माग अस्वीकार गर्दै मतगणना जारी राख्न निर्देशन दिएको थियो । शनिबार रातिको अन्तिम मत परिणाम अनुसार गुरुङ अर्यालभन्दा ५ हजार बढी मत अन्तरले निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुुसार निर्वाचित भएका धनराज गुरुङले ३१ हजार ४६६ र पद्मा अर्यालले २५ हजार ८३९ मत पाएका छन् ।
पद्माले सामाजिक सन्जालमा धनराजलाई शालीन र लोकतन्त्रमाथि विश्वास गर्ने नेताको रुपमा बुझे पनि निर्वाचनको दिनदेखि आफ्नो बुझाइ झुठो प्रमाणित भएको उल्लेख गरेकी छन् ।