अपराधीहरुलाई उन्मुक्ति दिने अध्यादेश ल्याएको भन्दै अनेरास्ववियुद्वारा विरोध प्रदर्शन

काठमाडौं । सरकारले अपराधीहरुलाई उन्मुक्ति दिने गरी अध्यादेश ल्याएको भन्दै एमाले निकट बिद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।
जुनसुकै तहका अदालतमा विचाराधीन फौजदारी मुद्दा फिर्ता लिन सक्नेगरी सरकारले अध्यादेश ल्याएको भन्दै अनेरास्ववियुले काठमाडौंको त्रिचन्द्र क्याम्पस अगाडी प्रदर्शन गरेका हुन् । उनीहरुले अपराधीलाई छुटाउन अध्यादेश, राजनीतिमा अपराधीकरण बन्द गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
छानविनको बिषयको कुरालाई सरकारले अध्यादेश ल्याएर अपराधीलाई ढाकछोप गर्ने काम गरेको उनीहरुको भनाई छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ अध्यादेशमार्फत संशोधन गर्ने निर्णय गर्दै राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको थियो । उक्त अध्यादेश राष्ट्रपति कार्यालयमा विचाराधीन छ ।