निजी क्षेत्रका समस्या समाधान गर्न वर्तमान सरकार प्रतिवद्ध : अर्थमन्त्री शर्मा
अर्थतन्त्र निकै संवेदनशील अवस्था रहेकै कारण एक क्षेत्र सुधार गर्दा अर्को क्षेत्रमा असर : गभर्नर
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले निजी क्षेत्रका समस्याहरु समाधानका लागि वर्तमान सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित नेपाल आर्थिक पत्रकार संघ (नाफिज) साधारण सभामा बोल्दै अर्थमन्त्री शर्माले अर्थतन्त्र सुधारका प्रयास गरिरहेको र निजी क्षेत्रका समस्या समाधानका पनि सरकारसंगै रहेको बताएका हुन ।
अर्थमन्त्री शर्माले बजेटबाट आयात प्रतिस्थापनलाई मुख्य जोड दिएको भन्दै आयात प्रतिस्थापनमा भइरहेको प्रगति पर्याप्त नरहेको धारणा राखेका छन् । राष्ट्रिय उत्पादन वृद्धिको आवश्यकता रहेकाले सबैलाई आयत प्रतिस्थापन गर्नुपर्ने बोध गराउन आवश्यक रहेको उनले बताए ।
अर्थमन्त्री शर्माले अहिले बिभिन्न चुनौती सामाना गर्दै अर्थतन्त्र सकारात्मक दिशामा अगाडि बढेको र यसमा राष्ट्र बैकको नीति तथा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको जिकिर गरेका छन् ।
त्यस्तै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पुस महिना अलि कठिन रहेको र तरलता सहज बनाउने प्रयास गरिरहेको बताएका छन् । उनले अर्थतन्त्र निकै संवेदनशील अवस्था रहेकै कारण एक क्षेत्र सुधार गर्दा अर्को क्षेत्रमा असर देखिएको बताएका छन् ।
गभर्नर अधिकारीले अर्थतन्त्र अप्ठ्यारोमा पर्दा ब्याजदर बढ्नु स्वाभाविक भएको बताएका छन् । अधिकारीले तरलता केही सहज बन्दै गएको उल्लेख गर्दै पुसमा केही असहज हुने बताएका छन्। गभर्नर अधिकारीले अर्थतन्त्रमा देखिएका सुधार अनुसार पोलिसी रिफर्मको काम पनि भइरहेको जानकारी दिएका छन् ।
कार्यक्रममा भरतमोहन अधिकारी नाफिज आर्थिक पत्रकारिता पुरस्कार २०७९ सम्झना घिमिरे र भरतमोहन अधिकारी नाफिज सहकारी पत्रकारिता पुरस्कार २०७९ सन्तोष रोकायलाई प्रदान गरिएको छ भने नाफिज आर्थिक पत्रकार सम्मान २०७९ बाट उर्वशी बस्नेतलाई सम्मान गरिएको थियो ।