चीनमा उपचार गरेर फर्किए माओवादी नेता पुन
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन चीनमा स्वास्थ्य उपचार गराएर मंगलबार स्वदेश फर्किनुभएको छ ।
स्वास्थ्यमा सन्तोषजनक प्रगति भएपछि उहाँ स्वदेश फर्कनुभएको हो । वंशाणुगत जण्डिशबाट पीडित पुन चुनावी धपेडीका कारण रोग बल्झिएपछि गत १६ मंसिरमा नेपाली चिकित्सकहरुको परामर्शमा फलोअप उपचारका लागि चीन जानुभएको थियो ।
उहाँको सेनजेनस्थित थर्ड पिपुल्स् अस्पतालमा उपचार भएको हो । नेपालबाट जाँदा पुनमा निन्द्रा नलाग्ने, शरीर चिलाउने, लगातार खोकी लाग्ने र खानामा अरुची तथा बान्ता हुनेजस्ता स्वास्थ्य समस्या रहेको र उपचारपछि उक्त समस्याहरु हटेको पुनको पारिवारिक स्रोतले जनाएको छ । यसअघि गत वर्ष पनि रोगले च्यापेपछि पुनको पहिला थाइल्याण्ड र पछि चीनमा उपचार गरिएको थियो ।