सरकार गठनको अनुचित र फोहोरी उद्देश्यमा एमाले लाग्दैन : अध्यक्ष ओली

गठबन्धनले लोकतन्त्रलाई कमजोर बनाएकै कारण मुलुकमा सरकार गठनमा अन्यौलता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार गठनको अनुचित र फोहोरी उद्देश्यमा एमाले नलाग्ने बताउनुभएको छ ।
जनताको रोजाईमा एमाले पहिलो पार्टी बनेको अवसरमा मंगलबार आयोजित विशेष कार्यक्रममा ओलीले अहिले सरकार गठनका लागि फोहोरी र अनुचित खेल भइरहेको आरोप लगाउदै अनुचित तवरबाट सरकार गठन गर्ने क्रियाकलापमा एमाले नलाग्ने बताउनुभएको हो । उहाँले एमाले प्रतिपक्ष वा सत्ता जहा रहेपनि राष्ट्रियता, सुशासन, लोकतन्त्र र कानूनी राजको पक्षमा उभिने जिकिर गर्नुभयो । ओलीले गठबन्धनले लोकतन्त्रलाई कमजोर बनाएकै कारण मुलुकमा सरकार गठनमा अन्यौलता देखिएको धारणा राख्नुभयो ।

त्यस्तै उहाँले हालैसम्पन्न निर्वाचन धाँधली रहित हुन नसकेको बताउनुभयो । एमालेको बिजयी खोस्न राज्यसत्ता र शक्तिको चरम दुरुपयोग गरिएको उहाले बताउनुभयो । ओलीले बुथ क्याप्चर भएका प्रमाणहरु आउदा पनि दोहराएर निर्वाचन नगरिएको भन्दै असन्तुष्टि प्रकट गर्नुभयो । धेराबन्दी धाँधली र बुथ क्याप्चरकाबीचमा पनि एमाले लोकप्रिय मतमा पहिलो भएको उहाले बताउनुभयो ।

अहिले मुलुक गम्भीर अवस्थामा पुगेको उल्लेख गर्दै अध्यक्ष ओलीले विकास र समृद्ध नेपाल सुखी नेपालीको आकांक्षालाई लक्ष्य बनाएर अघि बढ्ने स्पष्ट पार्नुभयो । कार्यक्रममा सर्वाधिक मत पाएर जितेको भन्दै ओलीलाई सम्मान गरिएको थियो भने
नवनिर्वाचित सांसदहरुलाई सम्मान गरिएको थियो । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सवैमा एमालेलाई बिजयी गराउन सफल अर्घाखाँची, धनकुटा र पर्वतका एमाले जिल्ला अध्यक्ष र पहिलो पटक जिताउन सफल सोलुखुम्वुका जिल्ला अध्यक्षलाई सम्मान गरिएको थियो ।