अतिक्रमित संरचनामाथि महानगरको डोजर बर्जियो, व्यवसायीलाई सामान सार्न भ्याइनभ्याइ
काठमाडौं । काठमाडौं महानगरपालिकाले धोबीखोला किनारमा खोलाको जग्गा अतिक्रमण गरी बनाएका संरचना हटाउन शुरु गरेको छ । महानगरको वडा नं. १० देवीनगरमा अतिक्रमित संरचना हटाउन पटकपटक सूचना जारी पनि नहटाएपछि आज महानगरले डोजर लगाएर भत्काएको हो ।
महानगर प्रहरीले सार्वजनिक जग्गामा बनेको घर टहरा, मापदण्ड विपरीतको होर्डिङ बोर्ड, नक्साविपरीतको वेसमेन्ट प्रयोग, फुटपाथ व्यवसाय हटाउँदै आएको छ ।
काठमाडौं महानगरले पटकपटक सूचना दिँदा पनि अटेर गरेपछि डोजर लगाउन वाध्य हुनु परेको महानगरका प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिएका छन् ।
अतिक्रमित संरचनामा रहेका पसल हटाउन सूचना जारी गर्दा पनि अटेर गरेर बसेका व्यवसायीहरु महानगरले डोजर चलाउन थालेपछि धमाधम सामान सार्न थालेका छन् ।