संसदीय दलका नेता देउवालाई प्रतिस्पर्धी गगनले दिए बधाई
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको चुनावमा पराजित भएका गगन थापाले विजयी उम्मेदवार शेरबहादुर देउवालाई बधाई दिनु भएको छ ।
निर्वाचन परिणामपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै थापाले अघिल्ला कार्यकालभन्दा फरक काम गरेर देखाउन देउवालाई आग्रह गर्नु भएको छ ।
चुनावी परिणामलाई स्वाभाविकरूपमा लिएको बताउँदै गगनले बहुसंख्यकले पार्टीमा यथास्थितिलाई नै रुचाएको कुरालाई सहजतापूर्वक नै लिएको बताउनु भएको छ । सांसदहरूले गोप्य मतदानमा मतपत्रको फोटो खिचेको कुरामा भने उहाँले असन्तुष्टि जनाउनु भएको छ ।
आफूलाई भोट नहाल्ने साथीहरूको मन जित्ने लगातार प्रयास गर्ने र केही समयपछि फेरि निर्वाचन हुने र आफूले जित्ने आशा रहेको थापाको भनाइ छ ।
थापाले भन्नु भएको छ ‘पाँच वर्षको संसदीय कार्यकालको यो प्रारम्भमात्र हो । केही समयपछि फेरि निर्वाचन हुन्छ । फेरि प्रतिस्पर्धा हुन्छ । नयाँ परिणामको अपेक्षा हुन्छ । त्यो बेलासम्म थप सांसद साथीहरूको मन जित्न निरन्तर प्रयास गर्छु ।’
आज भएको संसदीय दल निर्वाचनमा देउवाले गगनलाई ३९ भोटले पछि पार्दै निर्वाचित हुनु भएको हो । निर्वाचन समितिका संयोजक भीष्मराज आङ्देम्बेका अनुसार देउवाले ६४ भोट ल्याउँदा गगनले २५ भोट प्राप्त गर्नु भएको छ ।