पाँच जना सांसद किन गएनन् सपथ लिन ?

शपथग्रहणमा चार सांसद अनुपस्थित, एक जना निलम्बित

काठमाडौं । २७५ जना प्रतिनिधि सभाका सदस्य निर्वाचित भएकोमा ४ जना सदस्य सपथ ग्रहणमा अनुपस्थित भएको र एक जना निलिम्वित रहेको संसद सचिवालय जनाएको छ । यसअघि १३ जना सांसद सपथमा अनुपस्थित भएको समाचार आए पनि त्यो सत्य नभएको सचिवालयले जनाएको छ ।
संघीय संसद सचिवालयका अनुसार नेकपा (एकीकृत समाजवादी)का प्रेमबहादुर आले, नेकपा (माओवादी केन्द्र)का महिन्द्रराय यादव र राकुमार राई र नेपाली काँग्रेसका माया राई अनुपस्थित भएका हुन भने नेपाली कांग्रेसका टेकबहादुर गुरुङ निलम्वित अवस्थामा रहेकाले सपथमा सहभागी नभएका हुन ।
२७५ जना सदस्यमध्ये ४ जना मात्रै सपथ ग्रहणमा अनुपस्थित भएको सचिवालयका सहायक प्रवक्तासमेत रहेका उपसचिव दशरथ धमालाले बताएका छन् । प्रेमबहादुर आलेको आमाको निधन भएका कारण अनुपस्थित भएका हुन् भने माया राई सुत्केरी भएका कारण अनुपस्थित भएकी हुन् ।
यस्तै, महिन्दराय यादव नागरिकताका अनुसार जेष्ठ सदस्य भएको तर, जेष्ठ सदस्यका रुपमा सपथ ग्रहण नचाहेका कारण अनुपस्थित भएको बुझिएको छ ।
रामकुमार राई भने जिल्लामा नै रहेको र आज बिहानै हवाई उडानमार्फत काठमाडौं आउने तयारीमा भए पनि मौसम खराबीका कारण समयमा उडान हुन नसकेपछि अनुपस्थित भएको बुझिएको छ ।

(यसअघि १३ जना सांसद अनुपस्थित भएको खबर प्रकाशित भएको थियो । सो समाचार यसै समाचारमार्फत सच्याइएको छ । सं.)