दुई दशक कैद भुक्तान गरेका फ्रान्सेली नागरिक चाल्र्स शोभराज थुनामुक्त

काठमाडौं । हत्या अभियोगमा करिब दुई दशकदेखि कारागारमा कैद भुक्तान गरेका फ्रान्सेली नागरिक चाल्र्स शोभराज थुनामुक्त भएका छन् ।
सर्वोच्चको आदेशपछि उनलाई शुक्रबार काठमाडौंको सुन्धारास्थीत केन्द्रीय कारागारको गोलघरबाट कैदमुक्त गरी अध्यागमन विभागको जिम्मा लगाइएको छ ।
अदालतको आदेश अनुसार आवश्यक कानुनी प्रक्रिया सकेर उनलाई पुनः नेपाल आउन नपाउने गरी फ्रान्सलाई प्रत्यर्पण गरिने बताइएको छ । त्यसबेलासम्म उनलाई बिभागमा राखिने छ । शोभराजका वकिल गोपाल शिवाकोटीले बिभागले दुतावासले पत्र लेख्ने र उनलाई घर फर्काउने जानकारी दिनुभयो । कुनै पनि बिदेशीहरुलाई आफ्नै देश पठाउने गरेको र सो व्यवस्था नभएसम्मका लागि जमानीमा छाड्ने प्रचलन भएपनि शोभराजको सुरक्षाका लागि बिभाग नै जिम्मेवार हुने उहाले बताउनुभयो ।
त्यस्तै अधिवक्ता निहिता विश्वासले शोभराजको सुरक्षा नै अहिलेको मुख्य प्रश्न भएको बताउनुभयो । शोभराजको लामो कानूनी लडाई अव समाप्त भएको उहाले बताउनुभयो ।

यसअघि बुधबार सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधान र तिलप्रसाद श्रेष्ठको इजलासले उमेर र स्वास्थ्य स्थितिलाई कारण देखाउँदै उनलाई थुनामुक्त गर्न आदेश दिएको थियो । १९ वर्ष कैद सजाय भोगिसकेको र वृद्ध भएको हुँदा उनले कानुनले दिएको सुविधा पाउनुपर्ने माग गर्दै उनका वलिकले रिट दायर गरेका थिए । अमेरिकी र क्यानेडियन नागरिकको हत्यामा उनलाई नेपालमा पक्राउ गरी मुद्दा चलाइएको थियो ।