ओली निवासबाट प्रधानमन्त्रीमा दाबी गर्न सिधै शीतल निवास पुगे प्रचण्ड

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितको साथ लिएर प्रधानमन्त्रीमा दाबी गर्न पुष्पकमल दाहाल प्रचण्ड ओली निवास बालकोटबाट सिधै राष्ट्रपतिको कार्यालय शीतल निवास पुगेका छन्। 
प्रचण्डलाई एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी र नागरिक उन्मुक्तिसहितका १६६ जन सांसदको समर्थन मिलेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको सहमतिअनुसार प्रचण्ड अब कम्तिमा अढाई वर्ष प्रधानमन्त्री पदमा रहनेछन् । त्यसपछि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नेछन् ।
दाहाल संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा धेरै दलहरुको समर्थनमा प्रधानमन्त्री हुन लागेका हुन् । 
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार सरकार बनाउन दिएको समय अहिले साँझ ५ बजे सकिएको छ। समय सकिनुअघि नै प्रचण्ड शीतल निवास छिरेका हुन् ।