१६६ सांसदको समर्थनमा प्रधानमन्त्री बन्दै प्रचण्ड
राष्ट्रपति र सभामुख एमालेले लिने
काठमाडौँ । एमालेको नेतृत्वमा बनेको नयाँ सत्ता गठवन्धनले सरकार बनाउने भएको छ । दोस्रो ठूलो दल नेकपा एमालेसहित १६६ जना सांसदको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पहिलो चरणमा प्रधानमन्त्री बन्ने भएका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा भएको चार घण्टा लामो चार दलको वार्तापछि यस्तो सहमति जुटेको हो।
नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजान्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्तिसहितका १६६ सांसदले प्रधानमन्त्रीका लागि प्रचण्डलाई समर्थन गर्ने सहमति भएका छन् ।
राष्ट्रपतिले भनेको समयमै संविधानको धारा ७६ उपाधारा २ अन्तर्गतको सरकार बन्ने एमाले महासचिव शंकर पोखरेलले बताएका छन् ।
१६६ सांसदको समर्थनमा आजै सरकारको दाबी पेश गर्ने ृमहासचिव पोखरेलले बताएका छन् ।
सहमति अनुसार राष्ट्रपति र सभामुख एमालेले लिने र उपराष्ट्रपति र उपसभामुख अन्य साना पार्टी दिने सहमति भएको बताइएको छ ।
नेपाली कांग्रेस राष्ट्रपति र पहिलो चरणमै प्रधानमन्त्रीको दावी नछाडे पछि प्रचण्ड ओली निवास बालकोट पुगेका थिए । प्रचण्ड अस्थिर छन् भन्ने कुरा बुझ्न नसक्दा कांग्रेस संघदेखि प्रदेशसम्म सत्ता बाहिर बस्ने अवस्थामा पुगेको छ ।