कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पुस २२ गते बस्ने

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । पुस २२ गते दिउँसो १ बजेका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठकमा ३ एजेन्डामा छलफल हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । 
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन—२०७९ को समीक्षा सम्बन्धमा, समसामयिक राजनीतिका सन्दर्भमा र विविध गरी ३ एजेन्डा तय गरिएको पौडेलले जनाएका छन् ।
सत्ता गठबन्धन टिक्न नकसेपछि कांग्रेसको संस्थापन र इतर समूहमा रहेका नेताहरु केन्द्रीय कार्यसमिति बैठक डाकेर छलफल गर्नुपर्ने बताउँदै आएका थिए ।
राष्ट्रपति र प्रधानमन्त्री दुवैमा कांग्रेसले दावी गरेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन तोडेर नेकपा एमालेसँग सहकार्य गर्दै प्रधानमन्त्री बनेपछि सभापति शेरबहादुर देउवा नेताहरुको घेराबन्दीमा परेका छन् । 
संस्थापन इतर समूहले गठबन्धन टुटेकोमा देउवालाई दोष दिइरहेका छन् । देउवाले पार्टी सभापति र संसदीय दलको नेताबाट राजीनामा दिनुपर्ने माग उठिरहेका बेला बस्न लागेको केन्द्रीय समितिको वैठकलाई पार्टी नेताहरुले मात्र होइन, राजनीतिक वृत्तमा निकै महत्वका साथ हेरिएको छ ।