चालु पूँजी कर्जा मार्गदर्शन स्थगित गर्न अर्थमन्त्रीसँग व्यवसायीको माग

निजी क्षेत्रका मागप्रति सरकार गम्भीर : अर्थमन्त्री पौडेल

काठमाडौं । नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलसँग व्यवसायीहरुले चालु पुँजी कर्जा मार्गदर्शन स्थगित गर्न माग गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघको टोलीले अर्थमन्त्री पौडेललाई भेट्दै चालु पूँजी कर्जा मार्गदर्शन २ वर्षका लागि स्थगित गर्न माग गरेको हो ।
महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्रको पछिल्लो अवस्थाका बारेमा ब्रिफिङ गर्दै अर्थतन्त्रको विद्यमान समस्या समाधानका लागि महासंघका तर्फबाट सुझाव पेश गरेका छन् ।
अध्यक्ष गोल्छाले उद्योग व्यवसाय सञ्चालनमा सबैभन्दा बढी समस्याको रूपमा चालु पूँजी कर्जा मार्गदर्शन रहेको वताउँदै यसलाई कम्तीमा दुुई वर्ष स्थगन गर्न तथा तरलता व्यवस्थापन र व्याजदर स्थायित्वका लागि केन्द्रीय बैंकले सबै मौद्रिक उपकरणको प्रयोग गर्नुपर्ने सुुझाव दिएका छन् ।
मुलुकको अर्थतन्त्र अति संवेदनशील अवस्थामा रहेकाले नवगठित सरकारको सिंगो ध्यान अर्थतन्त्रको पुनरुत्थानमा जानुपर्नेमा पनि अध्यक्ष गोल्छाले बताएका छन् ।
अर्थतन्त्रमा बहुआयामिक असर परेको, मौद्रिक नीतिको समीक्षा मार्फत पनि समस्या सम्बोधन हुन नसकेको र विशेष गरी समग्र बैंकिङ समस्याका कारण उद्योगी व्यवसायी अत्यन्त कठिन अवस्थामा पुगेकाले बाध्य भएर सडकमा आउनु परेको व्यवायीहरुले बताएका छन् ।
अर्थतन्त्रको संवेदनशीलता बुझेर सोही अनुसार अर्थपूर्ण पहल हुने अपेक्षा अर्थमन्त्रीबाट निजी क्षेत्रले गरेको छ । राजस्वले साधारण खर्च समेत धान्न नसक्ने अवस्था आएको, मुल्यवृद्धि सात वर्षयताकै उच्च रहेको र अर्थतन्त्रलाई चलायमान बनाउने निजी क्षेत्रनै अहिले संकुचित हुदै गएको व्यवसायीहरुले बताएका छन् ।
नवनियुक्त उपप्रधान एवं अर्थमन्त्री पौडेलले निजी क्षेत्रका मागप्रति सरकार गम्भीर रहेको बताएका छन् । सरकार निजी क्षेत्र बीचको सम्बन्ध अन्योन्याश्रित रहेको वताउँदै मन्त्री पौडेलले निजी क्षेत्रको मनोबल ढल्यो भने अर्थतन्त्र पनि ढल्छ भन्दै उनीहरुको मनोबल उच्च बनाएर काम गर्ने आफ्नो पहिलो प्राथमिकता हुने बताएका छन् ।
सो अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, अर्थमन्त्रालयका सचिवद्वयको समेत उपस्थिति थियो ।