सरुवा-बढुवाका लागि नेताको घर गए कारबाही हुन्छ : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रहरी प्रधान कार्यालय, नक्साल पुगेर प्रहरी कर्मचारीको सरुवा र बढुवा मापदण्ड बाहिरबाट नहुने स्पष्ट गरेका छन् । उनले सरुवा(बढुवा माग्दै नेताहरुको घर घर पुगेको थाहा पाए कारबाही गर्ने गर्ने चेतावनी पनि दिएका छन् ।
गृहमन्त्री बनेपछि पहिलो पटक निरीक्षणका लागि प्रहरी प्रधान कार्यालय पुगेका मन्त्री लामिछानेले सरुवा र बढुवाको कुरा लिएर नेताका घर घर जाने कुरा अन्त्य गरिने प्रतिवद्धता जनाउँदै ‘हाम्रोभन्दा पनि राम्रो मान्छे’ लाई प्राथमिकता दिने बताएका छन् ।
उनले राम्रो काम गर्नेलाई पुरस्कृत र प्रहरीका आचरण विपरितका क्रियाकलाप गर्नेलाई दण्डित गर्ने पनि बताएका छन् । उनले भने, ‘हिजोका दिनमा जे–जे भए भए, आगामी दिनमा कसैले पनि कानूनी विपरितका क्रियाकलाप नगरोस्, विकृति विसंगतिका अन्त्य गर्छु ।’
आफूले प्रहरीभित्रका विकृति राम्ररी बुझेको बताउँदै उनले गलत क्रियाकलाप भएको पाइए कसैको कुरा नसुन्ने बताएका छन् । उनले आफूले पनि कुनै कुरामा दबाब नदिने बताउँदै सबै कुरा कानूनले बाँधेर गर्ने बताएका छन् । उनले प्रहरीको सेवा, सुविधा, रासन र तलब स्केल सबैको पुनरावलोकन गर्ने पनि बताए ।
प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले प्रहरीमा सरुवा बढुवाका लागि मापदण्ड समेत बनाइएको बताउँदै त्यसलाई अक्षरांश पालना गर्ने बताएका छन् ।