स्वस्थानी व्रत कथा तथा शालिनदी मेलाको तयारी तीव्र

काठमाडौं । काठमाडौं साँंखुमा लाग्ने एकमहिने श्री स्वस्थानी व्रत कथा तथा शालिनदी मेलाको तयारी तीव्र रुपमा भइरहेको छ ।
माधव नारायण स्वस्थानी व्रत तथा सालिनदी सुधार समितिले शुक्रबार साँंखुमा पत्रकार सम्मेलन गर्दै प्रत्येक वर्ष पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म लाग्ने मेलाको तयारी तीव्र रुपमा भइरहेको जानकारी गराएको हो ।

यो बर्ष पौष २२ गतेदेखि माघ २२ गतेसम्म मेला लाग्दै छ । माधव नारायण स्वस्थानी व्रत तथा सालिनदी सुधार समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठले व्रतालु व्यवस्थापन सम्बन्धमा व्रत बस्न साँखु आउने व्रतालुहरुको सेवाको लागि सबैभन्दा पहिले लगत संकलनको लागि नामदर्ता एवं स्थान व्यवस्थापन गरिने, व्रतालुहरुलाई साँखुबाट बाहिर परदेश (पशुपति, फर्पिङ, पनौती र चाँगुनारायण स्थान) लाने क्रममा आवश्यक सरसामान ओसार्नको लागि गाडीको व्यवस्था गरिएको अध्यक्ष श्रेष्ठले बताएका छन् ।
१ महिने मेलामा ३० देखि ३५ लाख धार्मिक पर्यटकहरु आउने उनको भनाइ छ ।
भक्तजनहरुको सेवा सुविधालाई मध्यनजर गर्दै सार्वजनिक यातायातको सम्बन्धमा शालिनदी यातायात प्रा.लि बाबागोकर्णेश्वर प्रा.लि. द्वारा सञ्चालित बसहरु जस्तोसुकै अवस्थामासमेत सेवा दिन तयार रहेको र अपुग भएको खण्डमा थप बसहरु थप गरिने समितिले जनाएको छ । साथै सामुदायिक प्रहरी सेवा केन्द्र तथा महानगरीय प्रहरी प्रभाग साँखु अन्तर्गत विशेष प्रहरी टोली परिचालन गर्ने निर्णय गरिएको छ ।