कसैलाई पनि पानी माथिको ओभानो बन्ने प्रयास नगर्न पनि माधव नेपालको चेतावनी
कसैसँग झुकेर सत्ता गठबन्धनमा नजाने
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टी सत्तारुढ गठबन्धनमा सामेल नहुने स्पष्ट पारेका छन् । सोमबार काठमाडौंमा सुरु पार्टी पोलिटब्यूरो बैठकमा बोल्दै अध्यक्ष नेपालले राष्ट्र र जनताको हितलाई केन्द्रविन्दुमा राखेर पार्टीलाई अघि बढाउने बताएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारमा सामेल हुन आग्रह गरिरहेका बेला अध्यक्ष नेपालले आफ्नो पार्टी कसै सामू लत्रिने र झुकेर सत्ता गठवन्धनमा सामेल हुने पक्षमा नरहेको बताएका छन् ।
अध्यक्ष नेपालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि पार्टीभित्रै रहेर ती समस्या समाधान गरेर अघि बढने आफूहरुको प्रयास असफल भएपछि नयाँ यात्रा गरेर अघि बढ्नु परेको दोहोर्याउँदै भनेका छन् –‘देशको राजनीतिक आफ्नै जटिलताहरु छन्। हाम्रो पार्टी सत्तारुढ गठबन्धनमा सामेल हुन सक्दैन। कुनै पनि शक्तिको पछि लाग्दैन। हामी आफ्नो देश अघि बढाउन चाहन्छौँ। हामी देशको हितलाई केन्द्रविन्दुमा राखेर अघि बढन चाहन्छौँ। नेपाली जनताको भावनालाई केन्द्रविन्दुमा राखेर अघि बढन चाहन्छौँ ।’
उनले अब आफूहरु सबै कुराको वस्तुनिष्ठ समीक्षा गर्दै अघि बढन तयार रहेको बताएका छन्।
अध्यक्ष नेपालले आफूहरुबाट केही गल्ती भए सच्चिन तयार रहेको उल्लेख गर्दै कसैलाई पनि पानी माथिको ओभानो बन्ने प्रयास नगर्न पनि चेतावनी दिएका छन्।
आजबाट सुरु भएको बैठकमा नेताहरुले सरकारमा पार्टी सहभागी हुने वा नहुने भन्ने विषयमा पनि आ–आफ्नो धारणा राख्ने एजेण्डा समेत तय गरिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बताएका छन्।
नेकपा एसका नेताहरुबाट तीन थरी कुरा आइरहेका छन् । एक पक्षले एमालेसँग पार्टी एकता गर्नुपर्ने बताएका छन् भने अर्को पक्षले यही पार्टीलाई अघि बढाउनु पर्ने बताएका छन् । अर्काथरीले भने सरकारलाई समर्थन गर्दै पार्टीलाई अघि बढाउनुपर्ने बताएका छन् ।