रेसुङ्गा बहुमुखी क्याम्पसलाई रेसुङ्गा नगरपालिकाद्वारा आर्थिक सहयोग
गुल्मीको रेसुङ्गा बहुमुखी क्याम्पसलाई रेसुङ्गा नगरपालिकाले आर्थिक सहयोग गरेको छ । क्याम्पसको आर्थिक अवस्था कमजोर हुन गएपछि गत भाद्र महिनामा आर्थिक संकटकालको घोषणा गरिएको थियो । त्यसलगत्तै रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले यस आर्थिक वर्षमा क्याम्पसलाई १ करोड रुपियाँ आर्थिक सहयोग गर्ने घोषणा गर्नुभएको थियो ।
सोही अनुसार नगरपालिकाले सोमबार रेसुङ्गा बुहुमुखी क्याम्पसलाई पहिलो किस्ता स्वरुप ५० लाख रुपियाँ बराबरको चेक हस्तान्तरण गरेको छ । बाँकी ५० लाख अर्को किस्तामा हस्तान्तरण गरिनेछ । आर्थिक सहयोगको चेक हस्तान्तरण गर्दै नगरप्रमुख खिलध्वज पन्थीले जिल्लाकै शैक्षिक धरोहरको रुपमा रहेको रेसुंगा क्याम्पसमा आर्थिक दायित्व बढेकोले एक करोड आर्थिक सहयोग गर्ने कायपालिकामा निर्णय गरिएअनुरुप आर्थिक सहयोग गरेको बताउनुभयो । पन्थीले क्याम्पसलाई पुरानै लयमा फर्काएर नयाँ ढंगबाट सञ्चालन गर्न पनि आग्रह गर्नुभयो । “गुल्मीको भाग्य र भविष्यसंग जोडिएको रेसुंगा क्याम्पस समुन्नतिको आधार हो ।,” नगरप्रमुख पन्थीले भन्नुभयो,–“नगरपालिका शैक्षिक धरोहर जोगाउन प्रतिबद्ध छ ।”
क्याम्पसलाई माथि उठाउन आफूले पूर्ण रुपमा सहयोग गर्ने बताउँदै रोजगार सिर्जना गर्ने नयाँ–नयाँ विषयको खोजी गरि कक्षा सञ्चालन गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो,–“रेसुंगा क्याम्पस गुल्मी जिल्लाकै भाग्य र भविष्य हो । यसलाई जोगाउँदा हाम्रो भविष्य जोगिन्छ ।” स्वास्थ्य र शिक्षाको क्षेत्रमा सुधार गरि अगाडि बढ्न सके गुल्मीको भविष्य सुरक्षित रहने नगरप्रमुख पन्थीले बताउनुभयो ।
रेसुंगा बुहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीप्रसाद भलामीले क्याम्पसमा आफ्नो नेतृत्वमा शैक्षिक र आर्थिक अवस्थाको विषयमा सुक्ष्म अध्ययन गर्दा क्याम्पस आर्थिक रुपले धरासायी बन्दै गएको थाहा पाएपछि सबैसँग सहयोगको अपेक्षा राखेको बताउनुभयो । त्यसमध्ये रेसुङ्गा नगरपालिकाकाले आर्थिक सहयोग गरेको भन्दै धन्यवाद् ज्ञापन गर्नुभयो । क्याम्पसलाई नयाँ ढंगले अगाडी बढाउन लागिएको अध्यक्ष भलामीले बताउनुभयो । यसले मात्रै आर्थिक दायित्वपूर्ण नहुने भएकाले आगामी दिनमा पनि निरन्तर सहयोगको आवश्यकता रहेको बताउनुभयो ।
उपप्रमुख अमृतादेवि कुँवर, प्रमुख प्रशासकीय अधिृकत हरिप्रसाद अर्याल, कार्यक्रम अधिकृत विनोद मरासिनी, कार्यपालिका सदस्यहरु, रेसुङ्गा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख हरिबहादुर खत्री, पत्रकार लगायतको उपस्थितिमा रु. ५० लाख बराबरको चेक हस्तान्तरण गरिएको थियो ।