यो वैकल्पिक गठबन्धन शुद्ध अवसरकेन्द्रित गठबन्धन हो : कांग्रेस
काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले वर्तमान सरकारलाई बाहिरबाट हेरिरहेको बताउनु भएको छ ।
बुधबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता महतले प्रचण्ड नेतृत्वको सरकार विरोधाभासपूर्ण भएको बताउँदै अहिलेको गठबन्धन स्वाभाविक नभएको दाबी गर्नु भएको छ ।
गठबन्धनको स्वरुपमा आशंका रहेको उल्लेख गर्दै प्रवक्ता महतले कांग्रेस सशक्त प्रतिपक्षी बन्ने बताउनु भएको छ ।
‘प्रचण्ड’पाँच दलीय गठबन्धनबीच गरिएको प्रतिवद्धताबाट पछि हटेको महतले आरोप लगाउनु भएको छ । ‘प्रतिवद्धताबाट हामी हटेको होइनौं,’ प्रतिनिधिसभा सदस्यसमेत रहनु भएका कांग्रेस प्रवक्ता डा. महतले भन्नु भयो, ‘प्रचण्डजी हटनुभएको हो।’
उनले तत्कालीन सत्ता गठबन्धन टुटेर प्रचण्डले नेकपा एमालेसँग गठबन्धन गरेर सरकार गठन गर्दा पनि कांग्रेसले वैकल्पिक समर्थन जुटाएर नेतृत्व लिने विषयलाई प्राथमिकता नदिएको पनि उहाँले स्पष्ट पार्नु भएको छ ।
यो वैकल्पिक गठबन्धन शुद्ध अवसरकेन्द्रित गठबन्धन हो। राजतन्त्र चाहियो भन्ने, गणतन्त्रको बाटोमै जानुपर्छ भन्ने, संघीयता चाहिन्छ र चाहिन्न भन्ने विभिन्न रुप रंगका पार्टीहरु एक ठाउँमा आएर गठबन्धन बनाएका छन्,’ उहाँले भन्नु भयो ‘यो गठबन्धनको विचारमा एकता छैन, दृष्किोणमा एकता छैन। भविष्यप्रतिको दृष्टिकोणमा एकता छैन।’