प्रसिद्धस्थल लेखपोखरामा माघेसंक्रान्ति मेला लाग्दै

गुल्मीको मालिका गाउँपालिकाको प्रसिद्धस्थल लेखपोखरामा माघेसंक्रान्ति मेला लाग्ने भएको छ । जिल्लाको मालिका गाउँपालिका–५ छापहिलेमा अवस्थित लेखपोखरामा माघेसंक्रान्ति मेला आयोजना गरिएको मेला आयोजक समितिका संयोजक चन्द्र बहादुर महताराले जानकारी दिनुभयो ।

मङ्गलबार सदरमुकाम तम्घासमा पत्रकार भेटघाट गरि लेखपोखराको महत्व र ऐतिहासिकता उजारका लागि लेखपोखरा माघेसंक्रान्ति मेला आयोजना गरिएको संयोजक महतराले बताउनुभयो । लेखपोखरा माघेसंत्रान्ति मेला यहि पुष २९ गते देखि माघ १ गतेसम्म सञ्चालन हुनेछ । मेलामा कृषि प्रर्दशनी मेलासँगै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने समेत महतराले जानकारी दिनुभयो ।

यो क्षेत्रमा ऐतिहासिक लेकपोखरी, ऋषिकेश मन्दिर, मालिका मन्दिर, सिद्धको मन्दिर, उल्टे ओढार, घोडाको छाप तथा विभिन्न रमणीय स्थानहरु रहेका वडाअध्यक्ष रेखाकुमार जिसिले बताउनुभयो । प्राकृतिक तथा धार्मिक दुवै दृष्टिकोणले यो क्षेत्र प्रसिद्ध रहेको जिसिको भनाई रहेको छ । लेकपोखरा क्षेत्रमा मालिका मन्दिर रहेको छ । यहाँ छापहिले, अर्जे तथा अमरपुर समेतबाट देवी मालिकाको पुजाआजा गर्न मानिसहरु आउने गरेका छन् ।
यो मन्दिरमा नागको ठुलो शक्ति रहेको जनविश्वास रहेको छ । मालिका मन्दिरको पुर्ननिर्माणको क्रममा धार्मिक तथा बौद्धिक व्यक्तिहरुसँग छलफल गरिएको थियो । सोही क्रममा वाचन सम्राट पण्डित भिमकान्त पन्थीले यस मन्दिरमा नागको समेत ठुलो शक्ति छ भनी बताउनुभएको साथै पूरानो मन्दिर भत्काउने क्रममा मन्दिरभित्र नै नाग भेटिएको अध्यक्ष जिसिले जानकारी दिनुभयो । “यो परिदृश्यले समेत यो मन्दिरको धार्मिक विश्वास र मान्यता अझ बढ्दै गएको छ ।” अध्यक्ष जिसिले भन्नुभयो,–“यो मन्दिर छेउवाट घोडाको छाप समेत देख्न सकिन्छ ।”
लेखपोखरामै अवस्थित तिखेचुलीको डाँडामा सिद्धको मन्दिर रहेको छ । यस मन्दिरमा भाकल गरी मागेको वर पूरा हुने जनविश्वास रहेको छ । नागपञ्चमी र ज्येष्ठ शुक्ल पञ्चमीका दिन यस मन्दिरमा पूजाआजा हुने गर्दछ । यस्तै सिद्धकापाती मन्दिरमा पनि सोही दिन पूजाआजा हुने गर्दछ । तीन दिनसम्म सञ्चालन हुने माघेसंक्रान्ति मेलामा राष्ट्रिय कलाकार बमबहादुर कार्की, शिला आले, विक्रम परियार लगायतका कलाकार समेत आउँदैछन् । संस्कृतिक कार्यक्रमसंगै कृषि उत्पादन प्रदर्शनी तथा उत्कृष्ट कृषक सम्मान, पञ्चेबाजा प्रदर्शनी, भजन प्रस्तुती, खुला भलिवल प्रतियोगिता लगायतका कार्यक्रम हुने आयोजकले जनाएको छ ।