पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १६ जना घाइते

प्रधानमन्त्री प्रचण्डद्वारा दु:ख व्यक्त

बुटवल । पाल्पामा बिहीबार राति बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । मृतक सबै पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं. ८ खुसार्ने गाउँका महिला रहेका छन् ।
मृतकहरुमा ५४ वर्षीया खिमकुमारी राना, ३३ वर्षीया निर्मला घिमिरे, ११ वर्षीया सुरुमा घिमिरे, २१ वर्षीया दानकुमारी खत्री, ४५ वर्षीया गुनी गाहा र १९ वर्षीया विमा पाण्डे रहेका रैनादेवी छहरा गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष रेमबहादुर रानाले जानकारी दिएका छन् ।
रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर खुसार्ने जाँदै गरेको यात्रुबाहक बस रैनादेवी छहरा गाउँपालिका वडा नं. ८ मधुवन टारीफाँट नजिकै राधादी गैराजंगलमा गएराति साढे ९ बजेतिर दुर्घटना भएको थियो । ग १ ख ४९७७ नम्बरको बस सडकबाट करिब ६० मिटर तल भिरमा खसेर दुर्घटना भएको प्रहरी चौकी जुठापौवाका बरिष्ठ हवल्दार लिलाबहादुर केसीले जानकारी दिएका छन् ।
दुर्घटनामा १६ जना घाइते भएका छन् । उनीहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।
दुर्घटनापछि बसका धनी र सहचालक फरार छन् । मृतकमध्ये तीन जनाको शव बसले च्यापेकाले शुक्रबार बिहान मात्र निकालेर पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको केसीले बताएका छन् ।
यसैवीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाल्पामा भएको बस दुर्घटनामा मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै सार्वजनिक यातायात सुरक्षित र मर्यादित तुल्याउन अपिल गरेका छन् । प्रधानमन्त्री प्रचण्डले आज बिहान ट्वीट गर्दै उक्त अपिल गरेका हुन् ।