गण्डकीको मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारी नियुक्त

कास्की । नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारी गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सोमबार अधिकारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
उनले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

यसअघि अधिकारीले गठबन्धनका तर्फबाट ३३ जना सांसदको समर्थनसहित प्रदेश प्रमुख गुरुङसमक्ष दाबी पेस गरेका थिए । अधिकारी यसअघि गृह र स्वास्थ्यमन्त्री भइसकेका छन् ।

अधिकारीलाई स्वतन्त्र सांसद हैसियतले राजीव गुरुङले समेत समर्थन जनाएका छन् । आइतबार गठबन्धनको बैठकले गण्डकी प्रदेशमा एमालेलाई मुख्यमन्त्री दिने सहमति गरेको थियो ।