ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाडौबीच मर्जर, एकीकृत कारोवारको शुभारम्भ

अर्थतन्त्रका समस्या हल गर्न सरकारले तत्काल नतिजामुखी काम गर्छ : प्रम प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रका समस्या हल गर्न तत्काल नतिजामुखी काम गर्नु जरुरी रहेको बताउनुभएको छ ।

सोमबार काठमाडौंमा ग्लोबल आइएमई बैंक तथा बैंक अफ काठमाडौबीच मर्जर भई एकिकृत कारोवारको शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकारको पहिलो मन्त्रिपरिषदको बैठकबाटै अर्थतन्त्रलाई गतिशिल बनाउन वित्तीय, औद्योगिक र मौद्रिक नीतिको सन्तुलित कार्यान्वयन गर्ने लगाएतका निर्णय गरिएको भन्दै अर्थतन्त्रका समस्या हल गर्न तत्काल नतिजामुखी काम गर्नु जरुरी रहेको बताउनुभएको हो ।

अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न नीजि क्षेत्रसँगको सहकार्य र सहयोगलाई वस्तुपरक रुपमा घनिभूत गराउने उहाले बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र सुधारका लागि संरचनात्मक सुधार पनि आवश्यक रहेकाले यसतर्फ पनि सरकारको ध्यान गएको जिकिर गर्नुभयो । उहाले निजी क्षेत्रको लगानी प्रवद्र्धन गर्न आवश्यक नीतिगत, संस्थागत तथा प्रक्रियागत सुधार गर्ने प्रतिबद्धता जनाउनुभयो ।

उहाले आम जनताको वित्तिय क्षेत्रमा पहुँच, वित्तिय साक्षरता र स्वरोजगारका क्षेत्रमा समेत बैंकिंग क्षेत्रले योगदान गर्नु जरुरी रहेको बताउनुभयो । दुई ठूला बैंक एक आपसमा गाभिएर एकीकृत कारोबार शुभारम्भ हुनु राष्ट्रको लागि महत्वपूर्ण कदम रहेको भन्दै उहाले यसबाट देशले अझ बलियो, थप विविध र थप गतिशील बैंकिङ क्षेत्र प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अव बैंकहरुले राष्ट्रिय उत्पादन बृद्धि गर्ने क्षेत्रमा लगानी गर्न आवश्यक देखिएको बताउनुभयो । अधिकारीले वित्तिय संस्था धेरै हुँदा वित्तिय खर्च धेरै बढेको र अस्वस्थ्य प्रतिष्पर्धा समेत बढेकोले मर्जरमा जोड दिएको धारणा राख्नुभयो ।

त्यस्तै ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले मर्जरको सफलताले अन्य बैंक तथा वित्तीय संस्थालाई पनि मर्जरको लागि प्रोत्साहन गरेको बताउनुभयो । उहाले राज्य र जनताको अपेक्षाका आधारमा व्यवसायको प्राथमिकता निर्धारण गरेको बताउनुभयो । पर्यटन पूर्वाधार र सूचना प्रविधि लगाएतका क्षेत्रमा लगानी केन्द्रीत रहेको उहाको भनाइ छ ।

एकीकृत ग्लोबल आइएमई बैंकको चुक्ता पुँजी ३४ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । त्यस्तै बैंकको कुल सम्पत्ति ५ खर्ब ५ अर्ब, कुल पुँजी ५७ अर्ब, कुल निक्षेप ४ खर्ब १२ अर्ब, कुल ऋण ३ खर्ब ७७ अर्ब पुगेको छ । दुवै बैंक एक बराबर एक अनुपातमा मर्ज भएका हुन् ।