प्रधानमन्त्री दाहालले पाए २६८ सांसदको समर्थन, विपक्षमा २ मत

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधसभाबाट दुईतिहाइभन्दा धेरै सदस्यको समर्थन पाएका छन् । मंगलबार भएको विश्वासको मत लिने प्रस्तावको पक्षमा अर्थात हुन्छ भन्ने पक्षमा २६८ मत खसेको छ भने प्रस्तावको विपक्षमा अर्थात हुन्न भन्नेमा जम्मा दुई मत मात्र परेको छ ।
आजको संसतमा जम्मा २७० सांसद उपस्थित थिए । संसदको अध्यक्षता गरेका जेष्ठ सदस्य पशुपति शमशेर जबराले दाहाललाई दुईतिहाइभन्दा धेरै बहुमत मिलेको घोषणा गर्दै वधाइ तथा सफल कार्यकालको शुभकामना समेत दिएका छन् ।
दाहालको पक्षमा नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीले समर्थन गरेक छन् भने ३ स्वतन्त्र सांसद अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले मत दिएका छन् ।
प्रधानमन्त्रीलाई नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले मात्र विश्वासको मत दिएनन् ।
दाहाल गत पुस ११ गते नेकपा एमालेसहितका १६९ सांसदको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।