लोकतान्त्रिक व्यवस्था र संविधानलाई बलियो बनाउन सरकारलाई समर्थन : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक व्यवस्था कमजोर हुन नदिन र संविधानलाई बलियो बनाउन प्रतिपक्षीमा रहदै सरकारलाई समर्थन गरेको बताउनुभएको छ ।

मंगलबार प्रतिनिधिसभा बैठकमा विश्वासको मतमाथिको छलफलका क्रममा देउवाले संविधानको रक्षाका लागि उभिने विश्वासका साथ सरकारलाई समर्थन गरेको भन्दै प्रतिपक्षमा रहेर गुण र दोषका अधारमा विरोध वा समर्थन समेत गर्ने धारणा राख्नुभयो ।

उहाले आज फेरि वर्तमान सत्ता गठबन्धनको प्रमुख घटकले संवैधानिक व्यवस्थालाई चुनौती दिएको अवस्थामा संविधानको रक्षाका लागि खरो रुपमा उभिने चुनौती आएको धारणा राख्नुभयो । महत्वपूर्ण तथा राष्ट्रिय सरोकारका विषयमा राजनितिक दलहरु बिच सम्वाद, सहमति र सहकार्यको मार्ग अवलम्बन गर्नुगर्नेमा कांग्रेसको दृढ मत गरेको उहाँले बताउनुभयो । संविधानको रक्षा गर्नु र संविधानको सार्थक कार्यान्वयन अहिलेको आवश्यकता रहेको र यसका लागि सहकार्य र सहमति आवश्यक रहेको उहाँको भनाइ छ ।

उहाले मुलुकमा विद्यमान चुनौतिको सामाना गर्दै प्रधानमन्त्रीले देश र जनताको हितमा काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।