सबै दलले सरकारलाई समर्थन दिनु डरलाग्दो दृश्य : चित्रबहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रमुख प्रतिपक्षी दलले पनि सरकारलाई समर्थन गरेको डरलाग्दो दृश्य नेपालमा देखिएको भन्दै चिन्ता व्यक्त गर्नु भएको छ ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै केसीले नेपाली कांग्रेसले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको प्रति कटाक्ष गर्दै सत्ता पक्षलाई हाइसञ्चो हुने अवस्था आउनु दुःखद भएको बताउनु भएको छ ।
केसीले भन्नु भएको छ, ‘संसदीय व्यवस्थामा प्रतिपक्ष हुन्छ, मैले जानेको संसदीय व्यवस्था त त्यस्तो हो, नेपालमा त आज विचित्र के भयो भने भएभरका सबै सरकारमा सामेल हुने, सरकारलाई समर्थन गर्ने, यहाँभन्दा हाइसञ्चो सत्तापक्षमा बस्नलाई के हुन्छ ?’

अध्यक्ष केसीले संसदमा शक्तिशाली प्रतिपक्ष भएन भने सरकार निरंकुश हुने वताउँदै कांग्रेसले दिएको समर्थनभित्र कुनै अदृश्य खेल हुन सक्ने आशंका गर्नु भएको छ ।
‘बलियो शक्तिशाली प्रतिपक्ष भएन भने त्यो सरकार निरंकुश हुन्छ, त्यसले जे मन लाग्यो उही गर्छ । सबै साथीहरुलाई सरकारमा सामेल भएर विगतमा भएका आफ्नो गल्ती कमजोरी ढाक्ने, त्यहीं भित्र लडामती गरेर एउटालाई पन्छाउने अर्को फेरि सरकारमा आउने ताल त होइन यो ?’ उहाँको प्रश्न छ ।
सरकारलाई समर्थन दिएको दलले समर्थन फिर्ता लिंदा पनि प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाको स्मरण गर्दै केसीले कांग्रेसले अहिले समर्थन दिएर पछि सरकारलाई अप्ठेरो पार्ने रणनीति लिएको आशंका गर्नु भएको छ ।
चुनावमा भएको खर्च उठाउन पनि दलहरु सरकारमा जान लालायित भएको हुनसक्ने बताउँदै केसीले भन्नु भएको छ ‘बोरामा पैसा लिएर चुनाव जितेर आएकाले सरकारमा नगई, देशको प्राकृतिक साधन स्रोत दोहन नगरी चुनावमा उडाएको खर्च उठ्छ रु त्यही डरले र विगतमा भएका कमी–कमजोरीबाट बच्न पनि सबै एक ठाउँमा भएका त होइनन् ?’
केसीले आफूहरु भने एक्लै भए पनि प्रतिपक्षमा बस्ने बताउनु भएको छ ।