सवै दलसँग विश्वासको मत माग्दै प्रधानमन्त्रीले भने – ‘विश्वासको मत दिएकोमा गर्व गर्ने काम गर्छु’
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सवै राजनीतिक दलहरुसँग आफू र आफ्नो सरकारलाई विश्वासको मत दिन आग्रह गर्नु भएको छ । राजनीतिकर्मीप्रति जनताको असन्तोष भएको कुरा लुकाउन नहुने बताउँदै उहाँले आफ्नो यो कार्यकाल स्वर्णिम बनाउन लाग्ने प्रतिवद्धता जनानु भएको छ ।
आफ्नो यसअघिका कार्यकाल सफल कार्यकालका रुपमा इतिहासमा दर्ज भएको उहाँले दाबी गर्नु भएको छ । आफू यसपटक फरक संकल्पका साथ संसदसामु उभिएको बतायँदै दाहालले भन्नु भएको छ ‘विश्वासको मत पाएँ भने प्रधानमन्त्रीको यो कार्यकाल इमानदार स्वीकारोक्तिका साथ सुरु गर्न चाहन्छु, हामी राजनीतिकर्मी कहीँ न कहीँ चुकेका छौं, त्यसो हुन्न थियो भने हाम्रा लाखौं युवा विदेशी भूमिमा पसिना बगाइरहेका हुँदैनथ्यौं।’
प्रधानमन्त्री प्रचण्डले क्रान्ति सुरु गर्दा जस्तै आवेग आफूमा रहेको बताउनु भएको छ । प्रधानमन्त्री प्रचण्डले आफू सिंहदरबारमा फोटो झुण्ड्याउन मात्र नआएको दावी गर्नु भएके छ । उहाँले भन्नु भएको छ – ‘हिजो क्रान्ति सुरु गर्दा म सँग जस्तो आवेग थियो। बिचमा केही अलमलिएजस्तो देखिए पनि आज म त्यही आवेग र अठोटका साथ यो रोस्टममा उभिएको छु, म सिंहदरबारमा अर्को कार्यकालको फोटो झुण्ड्याउन मात्र उभिएको होइन ।’
उहाँले आफू हरेक संसदमा रिपोर्ट कार्डका साथ उपस्थित हुने प्रतिवद्धता जनाउनु भएको छ ।