लुम्बिनीको मुख्यमन्त्रीमा एमालेका गिरीले गरे दावी पेश

बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता लिला गिरीले दावी पेश गर्नु भएको छ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य समेत रहनु भएका गिरीले ५८ जना प्रदेश सभा सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दावी पेश गर्नु भएको हो ।
गिरीलाई नेकपा एमालेका २९, नेकपा माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जनता समाजवादी पार्टीका ३, जनमत पार्टीका ३ जना, लोकतान्त्रिक समाजवादी पार्टीका ३ जना र स्वतन्त्र २ जना गरी ५८ सांसदको समर्थन रहेको बताइएको छ ।
८७ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ४४ सांसद भए वहुमत पुग्छ । गिरीलाई प्रदेश सभाका १० मध्ये ७ दल र २ स्वतन्त्र सांसदको समर्थन रहेको छ ।
प्रदेश प्रमुख शेरचनले पुस २७ गते ४ बजेसम्म मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गर्नु भएको थियो ।

लुम्बिनीमा नेकपा एमालेका २९, नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका १०, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका ४–४, जसपा, लोसपा र जनमतका ३–३ जना, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक–एक जना तथा माओवादी केन्द्रका बागी (स्वतन्त्र) ३ सिट जितेका छन् । रोल्पा १ (२) बाट विजयी दीपेन्द्र कुमार पुनमगर भने माओवादी केन्द्रमै फर्कि सक्नु भएको छ ।