संसदमा नेकपा एसको भूमिका रचनात्मक प्रतिपक्षीकै हुन्छ : अध्यक्ष नेपाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संसदमा आफुहरुको भूमिका रचनात्मक प्रतिपक्षीकै हुने स्पष्ट पार्नुभएको छ ।
बुधबार पार्टी निकट अनेरास्ववियू केन्द्रीय कमिटीले आयोजना गरेको सम्मान कार्यक्रममा अध्यक्ष नेपालले संविधानको कार्यान्वयनका साथै मुलुकको बिकास र सुशासनका लागि आफुहरुले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको भएपनि आफुहरुको भूमिका संसदमा चनात्मक प्रतिपक्षीकै हुने स्पष्ट पार्नुभएको हो । विश्वासको मत दिए पछि सत्तापक्ष नै हुने भन्ने गलत व्याख्या भएको भन्दै अध्यक्ष नेपालले विश्वासको मत दिएर प्रतिपक्षीमा बसेको अनुभव २०५१ सालमा नै रहेको जिकिर गर्नुभयो ।
त्यस्तै उहाले संसद बिघटनको चर्चा संसदमा पनि सुनिन थालेको र यसले जनतामा पुन आशंका जन्माएकाले यस बारेमा आफुले प्रधानमन्त्री प्रचण्डसंग प्रश्न गरेको बताउनुभयो । अध्यक्ष नेपालले देश सञ्चालनको नेतृत्वमा बसेका व्यक्तिहरुले आफ्नो जिम्मेवारी पुरा गर्नुपर्ने , संविधान, राष्ट्रियताको रक्षा गर्नुपर्ने र देशलाई बिदेशीको क्रिडास्थल बनाउनबाट रोक्नुपर्ने भन्दै आफुहरुले पनि सरकारलाई सही बाटो देखाउने धारणा राख्नुभयो ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादीका तर्फबाट प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित भएका नेताहरुलाई सम्मान गरिएको थियो ।