कांग्रेसले सभामुख–उपसभामुख चुनावबारे अन्य दलसँग संवाद गर्ने

काठमाडौं । नेपाली कांग्रेसले सभामुख र उपसभामुखको निर्वाचनको लागि अन्य दलसँग छलफल गर्ने भएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले सभामुख र उपसभामुख चुनावबारे सत्ताभित्र र बाहिरका दलसँग छलफल गर्ने निर्णय गरेको सहमहामन्त्री बन्द्री पाण्डेले बताएका छन् ।
स्ववियु निर्वाचन पनि आएकाले नेविसंघ र तरुण दललगायत भ्रातृ संस्थालाई पूर्णता दिनेबारे पनि छलफल भएको छ ।
प्रतिनिधिसभामा सभामुख चयनका लागि माघ ५ गते निर्वाचन मिति तय गरिसकिएको छ । संसद सचिवालयले माघ ३ गते निर्वाचन कार्यतालिका सार्वजनिक गर्दैछ ।
सातदलीय गठबन्धनमा सभामुख एमालेलाई दिने सहमति भइसकेको छ । नेकपा एमालेले सभामुखमा कसलाई उम्मेदवार बनाउने भन्ने निर्णय गर्न सचिवालय बैठक बोलाउने भएको छ ।
यसपटक सभामुखमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र सचिव छविलाल विश्वकर्माको सशक्त दाबी देखिएको छ ।
स्थायी कमिटी सदस्य देवराज घिमिरेले पनि सभामुखमा दावी गरेका छन् । झापा २ बाट निर्वाचित घिमिरेको प्रतिनिधिसभामा यो डेब्यु हो । उनी यसअघि एकपटक राष्ट्रियसभा सदस्य भएका थिए ।