पुनर्निर्माणका बाँकी काम सरकारको प्राथमिकता : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुनर्निर्माणको क्षेत्रमा बाँकी रहेका कामहरूको पूर्णता सरकारको प्राथमिकतामा भएको बताएका छन् ।
२५औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा एक सन्देश जारी गर्दै प्रधानमन्त्री दाहालले पुनर्निर्माणको क्षेत्रमा बाँकी कामहरूको पूर्णताका साथै भूकम्प प्रतिरोधी संरचना, चेतना र व्यवहारमा सिंगो देशलाई लयबद्ध बनाउने काम सरकारको प्राथमिकतामा रहेको उल्लेख गरेका छन् ।
आफ्नो दोस्रो प्रधानमन्त्रीकालमा पुनर्निर्माणका क्षेत्रमा धेरै काम भएको दावी गर्दै दाहालले निजी आवास पुनर्निर्माणका लागि दिइँदै आएको अनुदानमा एक लाख रुपैयाँ थप गर्ने, भूकम्पबाट क्षति भएका आवासहरूको प्रवलीकरणका निम्ति ५० हजार थप गर्ने, राष्ट्रिय सहमति र सहकार्यको वातावरणका साथ पुनर्निर्माणलाई तीव्रता दिने, भूकम्पबाट क्षतिग्रस्त सार्वजनिक संरचनाहरू द्रूत गतिमा पुनर्निर्माण गर्नेलगायतका महत्वपूर्ण कामहरू गरिएको दावी गरेका छन् ।
‘भूकम्प सुरक्षित पूर्वाधार, सुरक्षित जीवनको आधार’ भन्ने मूल नाराका साथ २५औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस आज देशैभरि विविध कार्यक्रम गरी मनाइने तय भएको थियो । तर, आइतबार बिहान पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटना भएपछि सरकारले सोमबार शोक बिदा दिएको छ ।