मन्त्रालय बाँडफाँटका लागि सत्ता साझेदार दलको बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच मन्त्रिपरिषदलाई पूर्णता दिने बारेमा पाँच घण्टा लामो छलफल पछि मन्त्रालयको बाँडफाँट गर्न सत्ता साझेदार दलको बैठक साँझ ५ बजेका लागि बोलाइएको छ । बैठकले १७ मन्त्रालयको बाँडफाँट गर्नेछ । सत्ता साझेदार दलहरुले पाउने मन्त्रालयको टुंगो लगाएर आजै प्रधानमन्त्रीलाई नाम बुझाउने तयारी भएको बुझिएको छ। 
१० पुसमा ३ स्वतन्त्रसहित ७ दलका १६९ सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले ११ पुसमा एमालेबाट ५, माओवादीबाट २, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट १ र जनमत पार्टीबाट १ जनालाई लिएर ८ सदस्य मन्त्रिमण्डल बनाएका थिए।
बाँकी १७ वटा मन्त्रालयको बाँडफाँटको टुंगो आज लाग्ने बताइएको छ ।