सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित
काठमाडौं । प्रतिनिधिसभाको सभामुख पदमा सत्ता साझेदार दलका उम्मेदवार नेकपा (एमाले)का सांसद देवराज घिमिरे निर्वाचिन भएका छन् । आज संसदमा भएको निर्वाचनबाट घिमिरे सभामुखमा निर्वाचित भएका हुन । २६८ मत खसेकोमा घिमिरेको पक्षमा १६७ मत परेको छ । उनीसँग प्रतिस्पर्धा गरेकी विपक्षी दलहरुको गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी ईश्वरीदेवी न्यौपानेले १०० मत प्राप्त गरेकी छिन् ।
२ सय ७५ सदस्य रहेको प्रतिनिधिसभामा सभामुख जित्न १ सय ३८ मत आवश्यक थियो ।
घिमिरेको पक्षमा एमालेका ७७, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्रब पार्टी ९रास्वपा०का २०, राप्रपा १४, जनता समाजवादी पार्टी ९जसपा० १२, जनमत पार्टी ६, नागरिक उन्मुक्ति पार्टी ४ छन्।
नेपाली कांग्रेसबाट सभामुख उम्मेदवार ईश्वरीदेवी न्यौपानेको पक्षमा नेपाली कांग्रेसका ८८, एकीकृत समाजवादी १० र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का ४ सांसद उभिएका थिए।
वि.सं २०१३ मा ताप्लेजुङमा जन्मिएका घिमिरे (बाबु पदमप्रसाद घिमिरे, आमा भिमकुमारी घिमिरे) हाल विर्तामोड नगरपालिकामा बसोवास गर्दै आएका छन् । घिमिरे गत मंसिर ४ गते भएको निर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा झापा क्षेत्र नं २ बाट निर्वाचित भएका हुन । २०५६ देखि २०६० सालसम्म राष्ट्रियसभा सांसद थिए । उनीले विद्यार्थी सङ्गठनबाट राजनीति शुरु गरेका हुन । विसं २०४९ मा एमालेको केन्द्रीय सदस्य भएका थिए । घिमिरेले एमालेको स्वास्थ्य विभागको अध्यक्ष भएर काम गरेका छन् । हाल उनी एमालेको स्थायी समिति सदस्य हुन् ।
सङ्घीय संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यमध्येबाट सभामुख निर्वाचित गर्ने संवैधानिक व्यवस्था छ । सभामुख र उपसभामुखमध्ये एक महिला र फरक दलको हुनुपर्नेछ । नेपाली जनताको सर्वभौमसत्ता सम्पन्न सर्वोच्च थलोका रुपमा प्रतिनिधिसभा रहिआएको छ ।