लागू पदार्थ दूव्र्यसनी नियन्त्रणका लागि सरोकारवाला एकजुट

गुल्मीका सरोकारवाला निकायहरु लागू पदार्थ दूव्र्यसनी नियन्त्रणका लागि एकजुट भएका छन् । बुधबार जिल्ला प्रशासन कार्यालय गुल्मीमा प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलको अध्यक्षतामा बसेको बैठकमा उनीहरुले लागू पदार्थ दूव्र्यसनी सबैको सहयोग र समन्वयबाट न्यूनिकरण गर्न सकिनेमा जोड दिएका छन् ।

लागू औषध नियन्त्रणका विषयमा गरिएको छलफलमा सबैभन्दा बढी विद्यालयका बालबालिका यसको लतमा परेको सिद्वबाबा माध्यमिक विद्यालयका प्रधानाध्यापक डोरविक्रम श्रीसले बताउनुभयो । “विद्यार्थीहरूमा लागू औषध दूव्र्यसनी बढ्दो हिसाबले गईरहेको छ । यो जोखिमको विषय बनिरहेको छ । विद्यार्थीहरुलाई लागू औषध सेवन गरिरहेको अवस्थामा खोल्सा र होटलसम्म नै फेला पारिएको छ ।” –श्रीस्ले भन्नुभयो,– “नियन्त्रणका लागि विद्यालयतहमा सचेतनात्मक कार्यक्रमहरु गरिएपनि खास नियन्त्रणमा गएको छैन् ।” सबै पक्षबाट निगरानी गर्न सकिए लागू पदार्थ दुव्र्यसनी नियन्त्रण गर्न सकिने श्रीसको भनाई छ ।
गुल्मी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ताराप्रसाद भुसाल र चेम्बर अर्फ कमर्शका उपाध्यक्ष वीरेन्द्र भुसालले सामाजिक सञ्जाल मार्फत समूह नै बनाएर लागु पदार्थ सेवन गर्नेहरुको संख्या बढिरहेको बताउनुभयो ।
लागू पदार्थ सेवन गर्ने संभावित क्षेत्रमा प्रहरी गस्ती बढाउन आवश्यक रहेकोमा उहाँहरुले जोड दिनुभयो । होटल व्यवसायी मञ्च गुल्मीका अध्यक्ष जंगबहादुर कुँवरले प्रत्येक होटलमा पुगेर अनुगमन गरिएको बताउँदै मदिराजन्य पर्दाथ नियन्त्रण गर्न आफुहरु लागिपरेको बताउनुभयो ।
नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्यालले स्कुल नजिकका होटलहरूमा यसको बढि बिक्री वितरण र प्रयोग गर्ने गरिएको पाइएको बताउनुभयो । व्यवस्थित कार्ययोजना बनाएर यसको नियन्त्रणका लागि लाग्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।
बैठकमा जिल्लाका उद्योगी, व्यवसायी, होटल सञ्चालक, विद्यालयका प्रधानाध्यापक, स्थानीय तहमा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । बैठकको सहजीकरण सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले गर्नुभएको थियो ।