हुलाकी सडकको ७० प्रतिशतभन्दा बढी काम सम्पन्न

विराटनगर । पूर्व पश्चिम तथा दक्षिण क्षेत्रलाई मुख्य राजमार्गसँग जोडने गरी निमार्ण शुरु गरिएको हुलाकी सडकको ७० प्रतिशतभन्दा बढी काम सम्पन्न भएको छ ।

मोरङ, सुनसरी तथा सप्तरी जिल्लामा ३ सय ३२ किलोमिटर हुलाकी सडक निर्माण भइरहेकोमा त्यसमध्ये ७० प्रतिशतभन्दा बढी काम सम्पन्न भएको हो ।

सप्तरीदेखि झापाको भद्रपुरसम्म निर्माण भइरहेको पूर्व–पश्चिम हुलाकी सडकको काम आगामी १ बर्ष भित्रमा सञ्चालनमा आउने गरी काम भइरहेको हुलाकी सडक योजना कार्यालय इटहरीले जनाएको छ ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको उक्त सडक एक वर्षमा चार लेनमा विस्तार हुने जनाइएको छ ।

हुलाकी सडकको काम अहिले तीव्र गतिमा अघि बढेको हुलाकी सडक योजना कार्यालय इटहरीका प्रमुख विजयकुमार थापाले बताउनुभयो । दशै तिहार जस्ता पर्व तथा निर्वाचनका कारण केही काम ढिलाइ भएपनि अहिले आएर कामले गति लिएको र बजेटको समेत अभाव नरहेको कार्यालय प्रमुख थापाको भनाई छ ।

३ सय ३२ किलोमिटर हुलाकी सडक खण्ड अन्तर्गत ठुला ठुला आठ वटा पुलको निमार्ण कार्य सम्पन्न भइसकेको छ । २४ वटा पुलमध्ये ८ वटा पक्की पुलको निर्माण सम्पन्न भएको हो ।

लामो समयदेखि गति लिन नसकेको हुलाकी सडकको कामले तीव्रता पाएपछि सर्वसाधारण समेत उत्साहित भएका छन् । रङ्गेली नगरपालिका क्षेत्रमा पर्ने बेतौनाको चेका खोलादेखि मधुवन्नी सम्मको हुलाकी सडकको प्राय सबै काम सम्पन्न हुने अवस्थामा छ भने बेतौना चोकदेखि विराटनगर सम्मको सडकको काम भने शुरुआती चरणमा छ ।

मोरङको केशलिया खोलादेखि मोरङ–झापाको सिमानमा रहेको रतुवा खोलासम्मको ४४ किलोमिटर सडकमा धमाधम काम भइरहेको छ । सो क्षेत्रमा पर्ने सबै सडक भत्काएको अवस्था छ । सडक समयमा सम्पन्न नहुँदा आवतजावतमा समस्या भएकाले सम्बन्धित निकायको ध्यान जानुपर्ने रङ्गेली ७ का कमलेश कुमार मण्डलको भनाई छ । रङ्गेली–विराटनगर सडकमा निमार्णको काम भइरहेकाले सडकमा धुलो उड्ने र सडक खाल्टाखुल्टी हुँदा बिरामीलाई ल्याउन लैजान समेत समस्या भएको मण्डलको भनाई ।

त्यस्तै, हुलाकी सडक अन्तर्गत पूर्व–पश्चिम राजमार्गलाई जोडने रङ्गेली–कानेपोखरी सडकको निमार्ण कार्य अन्तिम चरणमा छ । २६ किलो मिटर लामो उक्त सडक खण्डको गेरुवा खोलामा पुल नबन्दा सडकले पूर्णता पाउन सकेको छैन । लामो समयदेखि अलपत्र अवस्थामा रहेको सो पुल नबन्दा वर्षायाममा सवारी साधन तथा सर्वसाधारणलाई आवतजावतमा समस्या हुने गरेको छ ।